असार ३१ काठमाण्डौँ । संसदमा आज साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि निर्वाचन हुदैछ । आज संसदमा दिँउसो तीन बजेपछि मतदान हुनेछ ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रतिपक्षीबाट नेकपा (एमाले) की विद्या भट्टराई उम्मेदवार छन् ।
सभामुखमा अग्निप्रसाद सापकोटा २०७६ माघ १२ मा निर्वाचित हुनु पहिल्यैदेखि उपसभामुख पद रिक्त भएपनि पदपूर्ति हुन सकेको थिएन । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । उपसभामुख चयनका लागि सभामुख सापकोटाले बुधबार मात्रै दिन र समय तोकेका थिए ।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् । एमालेको उपसभामुख उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका थिए ।
प्रतिनिधिसभाको अंकगणितका आधारमा उपसभामुखमा गठबन्धनकी उम्मेदवार भुसालको जित सुनिश्चित छ । गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् ।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरेका छन् । लोसपा सांसद लक्ष्मणलाल कर्णले उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने शुक्रबार २ बजे तय हुने बताए ।