असार २७ पोखरा । चारैतिर आलोचना भएपछि गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री सहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको बजेट कार्यान्वयन नगर्ने भएको छ।
ती कार्यक्रमका लागि विनियोजित बजेट प्राथमिकताका अन्य क्षेत्रमा खर्च गर्ने गरी काम गर्न मुख्यमन्त्रीले सचिवालय र मन्त्रीहरुलाई निर्देशन दिएको बुझिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा गोवर्द्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायत कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।
स्वयं काँग्रेसका नेताहरुले समेत आलोचना गरेपछि मुख्यमन्त्रीको प्रेस सल्लाहकार भरत कोईरालाले विज्ञप्ति नै जारी गरेर यो कार्यक्रम सच्याउन लागेको जानकारी दिएका छन् ।
यस्ता कार्यक्रम र बजेटका सम्बन्धमा ुनागरिक स्तरबाट असन्तुष्टि व्यक्त भएपछि मुख्यमन्त्रीको ध्यानाकर्षण भएकोु र ुआमनागरिकको भावना कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउनु सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
व्यक्तिका नाममा खोलिएका ट्रस्ट र कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत मुछिएका छन्।
मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका(१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरेका छन्।
मुख्यमन्त्री पोखरेलकै बुवाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रूपैयाँ छुट्याइएको छ।
सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने वार्षिक बजेटमा मुख्यमन्त्री पोखरेलकै बुवाका नाममा खोलिएको कोषमा सबभन्दा धेरै बजेट राखिएको वार्षिक कार्यक्रममा देखिन्छ।
त्यस्तै, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्। उनका बुवा र आमाका नाममा खोलिएको ‘पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’ लाई अर्को शीर्षकमा ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
श्रेष्ठले दुइटा शीर्षकमा गरी आमा र बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले मात्र होइन, पार्टी कार्यालयसहित विभिन्न व्यक्तिका नाममा ट्रस्ट र पार्क बनाउन बजेट विनियोजन गरेको छ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन बजेट विनियोजन गरिएको छ। यसका लागि १ करोड ३० लाख रूपैयाँ विनियोजन गरिएको छ।
कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रूपैयाँ विनियोजन गरिएको छ।
यसरी विभिन्न व्यक्तिका नाममा खुलेका कोष र पार्कका नाममा प्रदेश सरकारले १० करोड रूपैया विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले पनि आफ्नै कोषका लागि बजेट विनियोजन गराउन सफल भएकी छन्। पियारी संरक्षक र उनका श्रीमान हेमराज पुन ुआश्रमु अध्यक्ष भएको कोषले दुई वर्षदेखि लगातार बजेट पाइरहेका छन्।
उनीहरूको बिहेमा दस हजार रूपैयाँ राखेर सुरू गरेको उक्त व्यक्तिगत कोषमा गत आर्थिक वर्ष १० लाख, चालु आर्थिक वर्ष ५० लाख र आगामी आर्थिक वर्षका लागि ६० लाख रूपैयाँ विनियोजन गरिएको छ।