असार २६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाल पनि ढिलो चाँडो श्रीलंकाकै अवस्थामा पुग्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले स्वार्थी राजनीति, कुसासन र भ्रष्टाचारका कारण नेपालमा पनि ढिलो चाँडो श्रीलंकाकै जस्तो अवस्था आउने भन्दै सचेत हुन भनेका छन् ।
नेता श्रेष्ठले यथास्थिति तोड्न सचेत धक्काको जरुरी रहेको पनि औल्याए ।
हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो। तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार(सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट(स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरुपमा पुर्याउने त्यतै हो। सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौं । उनले भनेका छन् ।
श्रीलंकामा भ्रष्टाचार, गलत आर्थिक नीति आदि कारण आर्थिक संकट आए पछि सर्वसाधारण आन्दोलित बनेका छन् ।
उनीहरुले राष्ट्रपति प्रधानमन्त्री देखि नेताहरुको घर कब्जा, आगजानी र तोडफोड गरिरहेका छन् ।