पछिल्लो समय २०२२ फेब्रअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गर्दा धेरैले भन्थे चार दिन भित्र राजधानी किभमा रुसी सेना पुग्छ र कब्जा गर्छ तर त्यो युद्धमा त्यस्तो देखिएन । बरु पाँच महिनादेखि त्यो युद्ध चलिरहेको छ । अझै पनि खास गरी पूर्वी युक्रेनमा भीषण युद्ध छ । पूर्वी युक्रेनमो डोनबास क्षेत्र भने लगभग रुसले कब्जा गरिसकेको छ । यो युद्ध अरु कति जान्छ त्यो एकिन छैन ।
यसको मुख्य कारण यो युद्धमा युक्रेनको आडमा अमेरीकी हतियार, युरोप तथा अमेरीकी नागरिकहरु ( विदेशी नागरिक सेनाका रुपमा ), क्षेप्यास्त्र, रकेट, पैसा सबै प्रयोग भईरहेको छ । हालैका दिन सम्म आँउदा ५० औँ अर्ब डलरको हतियार र सैन्य सहायता अमेरीका र बेलायत लगायत नाटो देशहरुले युक्रेनलाई दिईसकेका छन् । मानौँ यो युद्ध अब युक्रेनले मात्रै रुससँग सम्झौता गरेर टुगिंने छैन । थुप्रो पैसा र हतियार दिएको अमेरीका यस युद्ध मार्फत रुसलाई कमजोर पार्ने, उसको आर्थिक प्रणाली नष्ट पार्ने सोचमा देखिन्छ ।
त्यसै गरी रुस पनि पश्चिमाहरुको प्रतिवन्धलाई चिर्ने, रुस शक्ति हो, अमेरीकी नेतृत्वमा मात्रै संसार चल्दैन , नेटो र अमेरीकासँग युद्ध गर्न सक्षम छ भन्ने सन्देश दिन खोजिरहेको देखिन्छ । ३५० अर्ब डलर भन्दा बढी रुसको वैदेशिक सञ्चिती कब्जा हुँदा पनि रुसले युद्ध कम गरेको छैन । युरोपमा निर्यात हुने ग्यास तेलमा कमी आँउदा उसले भारत चीन जस्ता देशमा निर्यात बढाएर आर्थिक सुरक्षा गरिरहेको छ । भुक्तानी प्रणाली स्वीफ्ट र डलरको विकल्प खोज्दै अघि बढेको रुसलाई यी प्रकृयाहरुमा चीन र भारतको घोषित अघोषित सहायता पुगिरहेको छ ।
राष्ट्रपति भ्लादीमीर पुटिनले अब एक ध्रुवीय विश्व व्यवस्थाको अन्त्य भएको र नयाँ वैश्यिक प्रणाली शुरु भएको यस अघि नै घोषणा गरीसकेका छन् ।
युक्रेन युद्धको बहानामा अब बिस्तारै विश्व नयाँ शीत युद्ध र तेस्रो विश्व युद्धका लागि तयार हुँदै गएको देखिन्छ । अमेरीकी राष्ट्रपति जो बाईडेनले पूर्वी यूरोपको जर्मनीदेखि पोल्याण्ड र रोमानिया सम्म दोस्रो पटक बिशाल फौज तैनाथीको आदेश दिएका छन् । साथै रुसी सीमा रहेका देशहरुमा नौसेना समेत तयार गर्न भनेका छन् र नेटोले अत्याधिक विध्वंशकहरु सागरमा तैनाथी बढाएको छ । २९ जुनमा नेटोको सम्मेलनमा बाईडेनले पोल्याण्डमा अमेरीकाले पाचौँ आर्मी कोप्र्सको स्थायी मुख्यालय बनाउने उद्घोष गरेका छन् । जसको उदेश्य रुस बिरुद्ध घेराबन्दी गर्नु हो ।
रुमानियामा पनि अतिरिक्त सैन्य व्रिगेड तैनाथ गर्ने नेटोले निर्णय गरेको छ । जस अनुसार स्पेसियल अप्रेशन फोर्स, अमेरीकी अत्याधुनिक लडाकु विमान एफ ३५ समेत तैनाथ हुँदैछ भने स्पेनको रोटा अड्डामा विध्वंशक युद्धपोत तैनाथ गर्ने नेटोको तयारी छ ।
समग्रमा युरोपमा अमेरीकी सेनाको संख्या एक लाख छ । त्यसमा अब २० हजार थपिदैछ । युरोपमा अमेरीकी सेनाको संख्याको उपस्थिति स्पष्ट रुपले रुस विरुद्धको सन्देश हो । यसले यूरोपेली भूमिमा रुस र अमेरीकाबीच युद्ध हुने कुराको संकेतका रुपमा हेर्न सकिन्छ ।
वार्सा प्याक्ट र नाटो दुई मुख्य सैन्य गठबन्धन थिए शीत युद्धका बेला । त्यतिखेर वार्सा प्याक्टको सदस्य राष्ट्र पोल्याण्ड अहिले नेटोमा सामेल छ । फिनल्याण्ड र स्वीडेन पनि नेटोको सदस्य हुन खोजिरहेका छन् र युक्रेनले पनि यही कदम चाल्दा युद्धको परिणाम निम्तियो ।
१९९१ मा शीत युद्धको अन्त्य पछि वार्सा प्याक्ट विघटन भए पनि नेटो विघटित भएन । र अहिले बरु सदसस्यहरु थप्न खोजिरहेको छ । जब कि नाटो त्यो बेला सोभियत संघ बिरुद्ध लक्षित थियो ।
सन् २०२१ मा नेटो सम्मेलनमा यूरोपको सुरक्षा खतरा चीन, रुस र आतंकवाद भन्ने किटानी गरिएको थियो । त्यसरी उनीहरुले रुस चीनलाई कमजोर पार्ने रणनीतिक कडीहरुको खोजि गरीरहेका थिए र छन् । रुस र चीन कमजोर बनेमा अमेरीका र यूरोप सुरक्षित हुन्छ भन्ने बुझाई नाटो देशहरुमा छ । अमेरीकाले अझ भविष्यमा सैन्य संघर्ष चीनसँग हुन सक्ने कुराको पनि पूर्वआकलन गर्दै आएको छ । खास गरी ताईवानलाई अलग राष्ट्रका रुपमा व्यवहार गर्दै भारी मात्रामा हतियार निर्यात गरिरहेको अमेरीकाले चीन बिरुद्ध मुख्य अस्त्रको रुपमा यसलाई खडा गरेको छ । चीन विरुद्ध लक्षित हुने गरी अमेरीकी नेतृत्वमा ईन्डोेप्यासेफिक सैन्य रणनीति, क्वाड जस्ता सैन्य गठबन्धन अमेरीकाले बनाएको छ । जसमा दक्षिण एशियाको ठूलो मुलुक भारत पनि सामेल छ ।
रुसलाई कमजोर पार्न युक्रेन युद्धमा होमिन बाध्य पारेको अमेरीकाले चीनलाई कमजोर पार्न ताईवान वा भारतसँग युद्धको वातावरण सिर्जना गर्न खोजिरहेको आँकलन पनि हुने गरेको छ ।
जे भए पनि आर्थिक प्रतिवन्ध र व्यापार, हतियारको होड र सैन्य तैनाथी बढाउदै विश्वका शक्तिकेन्द्रहरु फेरी नयाँ शीत युद्ध निर्माण गर्दैछन् । यो शीत युद्ध तेस्रो विश्व युद्धको पूर्वाभ्यास त हैन भन्ने आशंका बढ्दो छ ।
युरोपको सुरक्षा ठेकेदारको रुपमा रहेको अमेरीकाले सोभियत संघको विघटन पछि आतंकवाद बिरुद्धको युद्धका रुपमा ग्लोबल सेक्युरिटी पोलिसी अन्तर्गत अफ्गानिस्तान, ईराक, सिरीया जस्ता देशमा युद्ध गर्यो तर सफल कतै भएको छैन ।
आजको दिनमा अमेरीकाले अझै पनि संसारको सबै भन्दा शक्तिशाली मै हुँ र अरुहरुले अमेरीकाको कुरा मान्नु पर्छ भन्ने अहंकार पाल्नु घातक हुने छ । अब पश्चिमाहरुको निर्देशनमा मात्रै विश्व चल्ने स्थिति छैन । विश्व शक्ति केन्द्रका रुपमा यूरोपमा रुस र एशियामा चीन भारत जस्ता देश अस्थित्वमा छन् । अव तेस्रो विश्व युद्ध भयो भने त्यसले परमाणु युद्धको रुप लिने अधिक संभावना छ । त्यसो भयो भने पहिलो र दोस्रो विश्व युद्धको तुुलनामा ठूलो विनाश निम्तिने पक्का छ । शीत युद्ध र विश्व युद्ध टार्न थुप्रै प्रसाहरुको खाँचो छ ।