असार २० काठमाण्डौँ । काठमाण्डौँमा हालै गोरखाका आफ्ना कार्यकर्ताहरुलाई संवोधन गर्दै गर्दा बाबुराम भट्टराई खलखलि पसिनाले भिजेका थिए , कारण हो गर्मी मौसम ।
तर मौसम गर्मी भएर जिउमा पसिना आउनु भौतिक पाटो भयो । राजनीतिक रुपमा पनि बाबुरामलाई यतिबेला पशिना छुटेको छ ।
समकालीन नेपाली राजनीतिमा सबै भन्दा विद्धत नेताका रुपमा चिनिन्छन् डा. भट्टराईलाई । उनी २०७२ सालमा संविधान जारी भएपछि परम्परागत राजनीतिक दल काम नलाग्ने भन्दै नयाँ शक्ति नेपाल बनाएर वैकल्पिक शक्ति खडा गर्न तम्सिए । दशरथ रंगशालामा खचाखच मानिसहरुको भीडमा उनले नयाँ शक्तिको उद्घाटन गरे । तर त्यो प्रभावकारी भएन । किन भने यो व्यवस्थामा निर्वाचनमा बलियो मत प्राप्त गर्नु ठूलो कुरा हुन्छ ।
उनी नँया शक्तिबाट संघीय समाजवादी हुँदै जसपा सम्म आईपुग्दा एक हिशाबले दिकदार र बिचलित बनिसकेका छन् । यतिको विद्धत हुनुका बाबजुद उपेन्द्र यादवले उनलाई कुनै वास्ता नगरी संगठनमा बलियो प्रभाव राखेकाले र आफ्नो कुरा सुनुवाई नभए पछि बाबुराम लगभग उनीसँग पनि छुटिने मुुडमा छन् ।
तर छुटिएर के गर्ने ? त्यो स्पष्ट छैन ।
गोरखाबाट अहिले सम्म अपराजित बाबुराम भट्टराई आगामी निर्वाचनमा त्याहाँबाट जित्ने हो भने माओवादीको समर्थन उनका लागि जरुरी देखिन्छ । तर उनी खुलेर माओवादीसँग जोडिन चाहेको भने देखिदैन । बाबुरामकै पालिका पालुगटार सहित जिल्लाका ९ पालिकामा एक्लै चुनाव जितेर माओवादीले जिल्लामा आफ्नो बलियो शक्ति स्थापित गरेको छ । बाबुराम माओवादीमा नआए गोरखा अर्का नेता नारायणकाजी श्रेष्ठको चुनावी क्षेत्र बन्ने छ ।
काँग्रेसले जम्मा दुई पालिका जितेको छ भने गोरखामा एकल बहुमतमा माओवादी छ ।
आगामी कार्तिक वा मंसीरमा हुने संघीय निर्वाचनमा बाबुराम गोरखामै लड्न चाहने बुझिन्छ ।
अतः उनले माओवादीसँगै आफनो टिमको एकता गर्ने वा चुनावी मोर्चा बनाएर सिट सुरक्षित गर्ने उपाय खोज्न सक्नेछन् । तर बाबुरामले कल्पना गरेजस्तो मुलुकमा बैकल्पिक राजनीति स्थापित हुन सकेन । सात वर्षमा बाबुरामले जे भोगे अब उनले चाल्ने नयाँ कदम कस्तो हुन्छ ? त्यो हेर्न बाँकी छ । उनलाई पनि भित्र भित्रै माओवादीसँग मिल्न भने दबाब बढेको बुझिएको छ ।
बाबुराम भट्टराईले छिट्टै एउटा भेला बोलाएर आफनो राजनीतिक निष्कर्ष सुनाएर अनुमोदन गरी त्यस अनुसार निर्णय लिने बताईएको छ । तर अबको बाबुरामको बाटो कता हो ? त्यो भने स्पष्ट छैन ।