सरकारले समयमै संघ र प्रदेशको निर्वाचन गराँउछ : प्रधानमन्त्री

सरकारले समयमै संघ र प्रदेशको निर्वाचन गराँउछ : प्रधानमन्त्री

  • बिहिबार, असार १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।”

दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उहाँले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताउनुभयो । उहाँले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्व सभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरङ्कुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिनुभयो । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले २०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्वाचत संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ