असार १३, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई शक्तिशाली बनाउने काममा लाग्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा आज अध्यक्ष नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न निर्देशन दिएका हुन् ।
पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन पनि उनले निर्देशन दिए । अध्यक्ष नेपालले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए ।
अरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ त्यसैले पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गर्नुहोस्, नेपालले भने ।
प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न नेपालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सातवटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्न भनेका छन् ।
स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी संगठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा संगठन विस्तार गर्नुपर्ने बताए ।उनले विचार बिनाको पार्टी र संगठन हुन नसक्ने बताए। उनले न्याय र समानताका पक्षमा जुट्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। उनले नेपाली विशेषताको समाजवादलाई जनताको अगाडि सार्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे । उनले निर्वाचित जनप्रतिनिधिले आ-आफ्नो क्षेत्रमा निस्वार्थ रुपमा भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको बताए।