असार १२ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री प्रेम आले पार्टीप्रति प्रतिवद्ध देखिएका छन् । उनले शुरुमा मन्त्री छाड्न आनाकानी गरेको हल्ला चले पनि अहिले भने उनीप्रतिवद्ध देखिएका हुन् ।
उनले पार्टीको निर्णय बमोजिम जुनसुकै बेला मन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्दै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पत्र लेखेका छन् ।
पार्टी महासचिव बेदुराम भुसालका अनुसार मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए ।
किशान श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा लगायतकाले पद छाड्न नमानीरहेका बेला आलेले प्रतिवद्धता देखाएका हुन् ।