असार ५ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बेलैमा चुनावी तालमेलको मोडालिटी तय गरेर सिट बाँडफाँड गर्नु पर्ने बताएका छन् ।
उनले निर्वाचन कार्तिक अन्तिम वा मंसीरमा हुने पनि बताए । तालमेल राम्रोसँग मिलाएर गठबन्धनलाई चुनाव पछि पनि अघि बढाउने बताए ।
आज सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘विगतको चुनावमा भएका त्रुटीहरूलाई लिएर अब नकारात्मक धारणा राख्न आवश्यक छैन ।’
अध्यक्ष नेपालले विगतमा महानगर र उपमहानगर बाहेकमा गठबन्धन गर्न प्रदेश र जिल्लालाई छोड्नु नै घातक भएको आफ्नो पार्टीको विश्लेषण रहेको पनि बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताबीचको छलफलमा तालमेलको मोडालिटी र सिट बाँडफाँडबारे कुराकानीको सुरुवात भएको बताए । उनले गत स्थानीय निर्वाचनको पाठ सिकेर गठबन्धनले सिट बाँडफाँडमा ढिलाइ गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ ।
‘आसन्न चुनावका लागि तालमेल र सिट बाँडफाँड गर्न ढिला गर्न हुँदैन । मंसिर महिनामा चुनाव हुने आधार मान्दा हामीले अहिलेदेखि नै छलफल चलाउनुपर्छ । उनले भने ।
उनले स्थानीय तह निर्वाचनमा गठबन्धनतिर गीत गाउन थालेकाले अपेक्षित परिणाम आउन नसकेको बताए ।