जेठ २० काठमाण्डौँ । गत स्थानीय निर्वाचनमा पार्टी भित्र विवादका बीच भाग लिएको विप्लव नेतृत्वको नेकपाले आगामी संघ र प्रदेशको चुनावमा भने भाग नलिने तयारी गरेको छ ।
स्थानीय चुनावलाई कार्यनीतिक प्रयोगका रुपमा भन्दै सहभागीता जनाए पनि उ कतै सफल हुन सकेको थिएन । सो पार्टीको प्रभाव क्षेत्र मानिने कालिकोटमा समेत उसले कुनै तह जित्न सकेन ।
यो निर्वाचनमा अनुकुल परिणाम देखा नपरेपछि केही दिन अघि उदयपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकमा समिक्षा पछि आगामी संघ र प्रदेशको चुनावमा भाग नलिने आशयको निर्देशन विप्लवले दिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताए ।
यद्यपि, आज बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीले आगामी असोजमा नवौँ राष्ट्रिय महाधिवेशनको मिति सार्वजनिक गरेको छ ।
महाधिवेशन असोज १ देखि ८ गते सम्म चल्ने र यसले पार्टीको भावी रणनीति र कार्यक्रम तय गर्ने छ । यसै महाधिवेशनबाट पार्टीले संघ र प्रदेशको चुनावमा भाग लिने वा नलिने आधिकारीक निर्णय गर्नेछ ।
धमेन्द्र वास्तोला र हेमन्त ओलीले पार्टी छाडेर गएकामा पार्टी महासचिव विप्लवले अराजकतावादीको संज्ञा दिँदै विवाद शुरु भएको सात दिनमै झोला बोकेर हिँड्नुलाई सुनियोजित कदम भएको टिप्पणी गरेका छन् ।
रुस, चीन जस्तो कान्तिको मोडेल नेपालमा सफल नहुने भन्दै उनले नेपालको मौलिक विषेशता समेटेर एकीकृत जनक्रान्तिको नारा अघि सारेको उनले बताए ।