छोरी ज्वाइँले चाँदीको बर औंठी सहर्ष स्वीकार्दाको उत्साहित मन

छोरी ज्वाइँले चाँदीको बर औंठी सहर्ष स्वीकार्दाको उत्साहित मन

  • मङ्लबार, जेष्ठ १७, २०७९
  • बासुदेव नाथ

  • 58.5K
    SHARES

यो कुनै उपन्यासको काल्पनिक कुरा नभइकन मेरो जेठी छोरी अनिताको विवाहको उत्सवमा भएको यथार्थ कुरा हो । मेरी छोरी अनिताको विवाह २०७४ साल बैशाख ६ गते कञ्चपुर जिल्लाको सदरमुकाममा रहेको शिवधाम क्षेत्रको लक्ष्मीनारायण मन्दिरमा विवाह सम्मन्न भयो । छोरी ज्वाइँ लाई विवाह मण्डपमा बर औंठी ससुराले ज्वाइँलाई लगाई दिने प्रचलन रहेकोँ छ । मेरो छोरी ज्वाइँलाई चाँदीको औंठी लगाएको कुरा विवाहमा संलग्न सबैलाई थाहा भएको कुरा हो । हाल आएर कतिपय मेरा दौतरीका साथिहरुले सोध्ने गर्दछन । तपाईको नाती भई सकेछ तर छोरीको विवाह कसरी गर्नु भयो । आजकल व्यवहार गर्न निकै गाह्रो भै सक्यो । अनुभव सेयर गर्नको लागि भन्न कर लगाउदछन । कतिपयले मैले भनेको कुरा पत्याउदैनन तर जीवनको आधा शताब्दी उमेर पुरा गरी सक्दाको क्षणमा सबैभन्दा सेयर गर्न निकै उत्साहित हुने कुरा छोरी अनिताको विवाह नै हो । मेरी छोरी अनिताको विवाह मैले सोचेको पनि थिएन तर मेरो छोरा पुरुषोत्तमको ५ वर्षको उमेर २०७१ साल माघ महिनाको बसन्त पञ्चमीमा गरीयो । उक्त शुभ अवसरमा छोरी अनिताको विवाहको सुरुवात पनि भयो । उक्त कार्यक्रममा मेरो निजी निवास कञ्चनपुरको भाँसीमा जुर्न पुग्यो । घरका सबै जना आमा बुवा लगायतका परिवारहरु र इष्टमित्रहरुको सहभागीता थियो । मेरी जेठी बहिनी गोमती (फुन्ना) की नन्द हाल हाम्री सम्दनीज्यू पनि उक्त मुण्डन कार्यक्रममा सहभागी हुनु हुन्थ्यो । खानाखाएर एक छिन घरको छतमा घाम तापिरहेका थियौ । हाल हाम्री सम्दिनीज्यूले आज म कन्या माग्न पनि आएकी हुँ भनेर कुरा निकाल्नु भयो । मैले भने हामी दाजु भाईहरुको ७ जना छोरी मध्ये एउटा छोरी लक्ष्मीको मात्र विवाह भएको छ बाँकी ६ जना कन्याहरु मध्ये छानेर लग्नु होस भन्दा खेरी उनले हैन हजुरकी छोरी अनिताको लागि कुरा गरिरहेकी छु भनेर भन्नु भयो । मैले भने छोरी अनिता अहिले बिबिएस पढ्दैछिन । छोरी दिने हो तर सर्त राखेरमात्र दिने हो भने । उहाँले भन्नु भयो के कस्तो सर्तहुन त ? मैले भने छोरीमात्र दिने हुँ अरुकेहि दिन सकिदिन,  छोरीले ब्याचलर पास गरेपछि मात्र दिने हुँ र मैले विवाहमा व्यवहार गर्न सक्ने सामर्थ्य छैन हामी काठमाडौं मै बस्ने भएकोले ललितपुरको बंगलामुखी मन्दिरमा सिमित जन्तिहरुको सहभागीतामा दिने हुँ भन्दा उहाँले हुन्छ ठीक छ तर विवाह चाही काठमाडौं स्थित मन्दिरमा भन्दा महेन्द्रनगर स्थित मन्दिरमा नै गरिदिनु पर्‍योभनेर करलगाउनु भयो ।

करिब २ वर्षपछि (२०७३ फागुन शिवरात्री आउदै थियो)हाम्री सम्दिनीका बुवा (मेरी बहिनी गोमतीका ससुराले) एक दिन फोन गर्नु भयो । हैन ज्वाई साव तपाईले मेरो नातीको आफ्नी छोरी नदिनलाई होकी किन ढीला गरिरहनु भएको हो ।ल बिबाह गरिहालौन भन्नु भयो मैले पनि ठट्यौली पारामा हुन्छ हजुर र हजुरका छोरी ज्वाइँ अनि मेरा आमाबुवालाई पनि काठमाडौं लिएर आउनु होस । कुनै खर्च पनि लाग्दैन बस चढेर आउनु बिवाह गरी बस चढाएर पठाइदिन्छु भन्दा खेरी हुन्छ छोरी ज्वाईलाई सोध्दछु भन्नु भयो । उहाँले (मेरो सम्दिनीका बुबा) अहिले होइन बैशाखमा विवाह गरिदिनु पर्यो भन्ने कुरा गर्नु भयो ।

त्यसपछि छोरी अनिताको विवाहको कुरा अगाडि बढ्यो र मेरो ज्वाइँ दिपेन्द्र नाथ त्यतिवेला वन अनुसन्धान विभाग बबरमहलमा रेञ्जर पदमा कार्यरतहुनुहुन्थ्यो । उहाँले भन्नु भयो विवाहको लागि गहना किन्न घरबाट पैसा पठाएको छ हजुरलाई लिएर किनिमाग्नु भनेको छ भन्नु भयो । छोरी अनिताकोलागि दुलाहाको पक्षबाट लगाउने गहना किन्न छोरी ज्वाई र म अनि छोरीहरु दुर्गा र बिमला समेत बिशाल बजारको रिद्धि सिद्धि सुनचाँदी पसलमा गएर एकतोला सुनका गहना किनियो ।त्यसै समयमा मैले भने हेर्नुस विवाहको दिन बर ‍औंठी लगाउने चलन छ मैले लगाउने भनेको चाँदीको औंठी हो तपाईलाई कुन मन पर्छ छान्नु होस भने र मेरो ज्वाइँले खुशी हुदै त्यतिबेलाको १२५० (एकहजार दुईसय पचासको) औंठी छान्नु भयो र त्यस औंठीको पैसा मैले तिरे र त्यही औंठी छोरीको विवाहमा ज्वाइँलाई लगाई दिए ।

आजका दिन सम्म ज्वाइँलाई चाँदीको औंठी किन लगाउनु भयो भनेर म संग प्रत्यक्ष कसैले भनेको त छैन तर मेरी श्रीमति संग मेरा जेठान जीले हामीलाई जानकारी गरेको भए हामी नै सुनको औंठी बनाएर लगाइ दिन्थे भन्ने कुरा मेरी श्रीमति देवकीले मलाई सुनाउनु भएको कुरासम्म मात्र अप्रत्यक्ष रुपमा सुनेको छु । मलाई आज सम्म लागेन कि मैले ज्वाइँलाई चाँदीको औंठी लगाई दिए के मैले उहाँ लाई अपमान गरेको हो र होइन त्यो पटक्कै हुदै होइन मेरो छोरीआफैमा सुन हो मैले सिंगै सुन ज्वाईलाई सौंपिदिए भने ज्वाइँलाई किन चाहियो सुनको औंठी उनीहरुको तर्फबाट पनि आजका दिन सम्म किन ज्वाइँलाई चाँदीको औंठी लगाइयो त भन्ने कुरा सुन्नमा आएको छैन । कहिकतै सुनेको छु ज्वाइँका आफन्तले तिम्रो ससुराले दिएको औंठी मलाई दिनु भनेको अन्यत्रबाट सुन्नमा आएको थियो । म सानो तिनो कुरामा मतलब राख्दिन । मेरो श्रीमति संग सुनका गहना छैनन् भने छोरी ज्वाइलाई किन सुन दिने भन्ने मलाई लागिनै रहन्छ ।

हाम्रो समाजमा आदर्श ज्वाइँको खाँचो रहेको छ । अधिकाशं ज्वाइँहरुको ध्यान छोरी भन्दा पनि ससुराले दिने उपहारमा हुन्छ । आफ्नो इच्छा चाहना अनुसारका उपहार दिन नसक्दा कतिपय छोरीहरुको बैवाहिक जीवन नर्क मात्र नभइकन जीवन नै त्याग गर्नु पर्ने अवस्था पुगेका समाचार बन्न पुगेका कुराहरु सुनिरहेका हुन्छौं । कतिपयले भोगी रहेका पनि छन । विवाहमा पाउने उपहारको अपेक्षा पुरा भएन भने छोरीहरुको दु:खका दिन सुरु हुने तथा मित्रता सत्रुतामा परिणत भएका घटनाहरु हाम्रो समाजमा थुप्रै छन । यस्ता कुरितीहरु तथा सामाजिक अपराधहरु संग हामी सबै एकजुट हुनु आवश्यक छ ।

औंठी सामान्यतया विभिन्न प्रकारका धातुहरुबाट बनाएको गोलो आकारमा हातका औलामा पसाएर लगाउन मिल्ने गरी बनाइएको गहना हो । बर औंठी भनेको विवाहको उत्सवमा कन्याको पिताले बरलाई लगाइदिने औंठी वा कन्याले बरलाई लगाइदिने औंठीलाई जनाउदछ ।औंठी लगाउनु भनेको दुई व्यक्तिको बीचको मिलनको प्रतिक हो वा यो दुई आत्मा बीचको मिलनको प्रतिक पनि हो । यहाँ कन्याको पिताले बरलाई लगाइदिने औंठीले दुई परिवार बीचको मिलन बलियो तथा आत्मिय होस भनेर लगाइदिने प्रचलन रहेको छ । भने बर कन्याले पनि एक अर्कालाई औंठी लगाइदिने गर्दछन जसले उनीहरु दुई आत्माको मिलनको प्रतिक तथा  एक जोडी जीवन प्रतिवद्धता स्थापित भएको सूचकको रुपमा सम्बन्ध स्थापित भएको ठान्दछन ।

के मसंग एउटा औंठी किन्ने सामर्थ्य नै नभएर हो त ज्वाइँलाई चाँदीको औंठी लगाएको होइन त्यो पनि हुदै होइन । मैले समाज राम्ररी चिनेको छु, मैले समाज पढेको छु, मैले समाज भोगेको छु  अझै भोग्दैछु र बुझ्दैछु । हाल देखासिकीले मान्छेको हरिबिजोग भइसकेको छ । विवाहमा ज्वाइँ र ज्वाइँ पक्षलाई गरगहना उपहार दिएर पनि राम्रो सम्बन्ध भएको देखिएको छैन तर मेरो त भगवानको आशिर्वादले बिवाहमा ज्वाइँलाई चाँदीको औंठी लगाएको कुरा आजसम्म कसैले कुरा निकाल्ने हिम्मत सम्म गरेको पाइदैन । हो म ती महान इष्ट मित्रहरुलाई उच्च सम्मान गर्दछु । यसले मेरो मात्र होइन उनीहरुलाई उच्च सम्मान भएको ठान्दछु । सदभाव हुनु पर्दछ र पो मित्रता गाढा तथा दिगो रहन्छ ।हरेक मानवमा इष्टमित्रमा यस्तै समझदारी हुनु आवश्यक छ । हरेक ज्वाइँहरुमा यस्तैगरी दिमागमा समझदारी, मुटुमा इमान्दारी र काँधमा जिम्मेवारी लिनु आवश्यक छ ।अनि त्यो मानव हो । त्यसले नागरिक कर्तव्य पालना गर्न सक्दछ । समाजलाई उसले समाल्न सक्दछ । समाजको लागि शिक्षकको भूमिका निर्वाह गर्नु आज हरेक नागरिकको लागि त्यतिकै आवश्यक छ । कोही पनि आ आफ्नो ठाउँबाट जिम्मेवारीबाट पछि हट्नु हुदैन ।मेरो पिता जीको मलाई उपदेश छ की “हिम्मत हार्नु हुनैन हिम्मत हार्नु जिउदै मर्नु हो”।हरेक काम गर्दा धैर्यता र नैतिकता प्रदर्शन गर्न सक्यो भने जीवन सार्थक छ । सबैलाई सदवुद्धि फिरोस यहि शुभकामना ! गच्छे अनुसार दान गरौं ! देखासिकीले व्यवहार नगरौं ! समाजमा असल नागरिकको भूमिका निर्वाह गरौं ! मानवता प्रदर्शन गर्नु नै मानव धर्म हो । धन्यवाद !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ