स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

  • शनिबार, जेष्ठ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, १४ जेठ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ । करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा (एमाले)ले एक्लै निर्वाचन जित्ने दाबीका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित छ ।

नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो । यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ ।

स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो । राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन् ।

यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो । काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन् । राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ ।

हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् । एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।

कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ ।

यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी