जेठ १२ काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने बिषय नसमेटिएको भन्दै आपत्ति जनाएका छन् ।
आज संसदको बैठकमा बोल्दै अध्यक्ष ओलीले ती भूमि नेपालको हो कि होईन प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताए ।
ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ? ओलीले भने ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्न नसक्ने हो भने, फिर्ता ल्याउछु भन्न नसक्ने हो भने , राष्ट्रिय हितको रक्षा गर्न सक्नु हुन्न भने अखण्डताको रक्षा गर्न सक्नु हुन्न भने अनि के सरकारको नेतृत्व हुँ भन्ने ? ओलीले कडा प्रश्न गरे ।
ओलीले देशको परराष्ट्र नीति असन्तुलित बनाएको भन्दै चर्को आलोचना पनि गरे ।
उनले तीन घण्टा लामो संवोधनमा निर्वाचनमा धाँधली भएको सुनकाण्ड र वाईडबडी काण्डको छानविन गर्न पनि माग गरे ।