भरतपुरमा एमाले : प्रचण्डलाई देखाउन भएभरको शक्ति प्रदर्शन तर परिणाम झन् कमजोर
जेठ ११ चितवन । भरतपुर महानगरमा माओवादीलाई हराउन यस पटक एमालेले कुनै कसुर बाँकी राखेन । उसले वुटवलमा तय भएको पार्टीको दशौँ महाधिवेशन अचानक चितवनमा गरेर शक्ति प्रदर्शन गर्यो ।
त्यसपछि भरतपुरमा जसरी पनि चुनाव जित्न यस पटक बैशाख २४ गते आम बिशाल जनसभा पनि गर्यो । त्यो सभामा ओलीले भनेका थिए, बिजय सुवेदी मेरो हट सम्पर्कमा छन्, जिताएर पठाउनुस् भरतपुरको विकासको जिम्मा म लिन्छु । भरतपुरवासी मतदातालाई प्रभावित पार्न एमाले अध्यक्ष ओलीको यो अभिव्यक्तिले पनि प्रभावित पार्न सकेन ।
यस पटक एमालेले प्रदेश सांसद विजय सुवेदीलाई राजीनामा गराएर भरतपुरमा उम्मेद्धार बनाएको थियो । एमालेको चाहना सुवेदी प्रभावशाली उम्मेद्धार थिए र उनले रेणु दाहाललाई पराजित गर्न सक्ने क्षमता राख्थे । तर त्यो जादू पनि चलेन । सुवेदीले अघिल्लो चुनावमा देवी ज्ञवालीले ल्याएको भन्दा तीन हजारमाथि मत कम ल्याउदाँ रेणुसँगको मतान्तर १२ हजार माथि रह्यो ।
रेणु दाहालले ५२ हजार बढी मत ल्याउदा सुवेदीले ३९ हजार प्लस मात्रै मत ल्याउन सके । रेणुलाई हराउनकै लागि एमालेले चितवनमा राप्रपासँग तालमेल गरेको थियो उपमेयर दिएर । राम्रै प्रभाव भनिएको राप्रपाको मत पनि सबै एमालेले पाउन नसकेको आकलन छ । अर्कोतिर एमाले भित्रकै मत पनि रेणु दाहाललाई गएको देखिन्छ । मत गणनास्थलमा प्रतिनिधि बसेकाहरुका अनुसार एक छाप हसिया हथौडामा लगाएर बाँकी छाप सूर्यमा लगाएको मत पनि निकै भेटिएको थियो । त्यसले एमाले भित्रकै मत पनि दाहालले पाएको स्पष्ट हुन्छ ।
प्रचण्डकै कारण ओली प्रधानमन्त्रीबाट हट्नु परेको र उनकै कारण एमाले फुटेको बुझाई एमालेजनमा छ । अनि प्रचण्डकै निर्वाचन क्षेत्र भरतपुरमा प्रचण्डको मनोवल कमजोर पार्न भरतपुरमा बाजी मार्ने एमालेको बलियो लक्ष्य थियो तर त्यो पूरा हुन सकेन ।
भरतपुरमा उम्मेद्धार रेणु दाहाल र विजय सुवेदी भए पनि यो राजनीतिक प्रतिष्ठाको लँडाई चाँही प्रचण्ड र ओलीको जस्तो बनेको देखिन्थ्यो ।
अघिल्लो चुनाव भन्दा व्यक्तिगत प्रभावका हिशाबले पनि रेणु यसपाली सबल थिईन् । वितेको पाँच वर्षमा उनले गरेको कामले चौतर्फी प्रशंसा पाएको थियो । अर्कोतिर काँग्रेस, एमाले फुटेर बनेको एकीकृत समाजवादी, जसपा जनमोर्चा जस्ता पार्टीहरु गठबन्धनमा थिए । काँग्रेसका जगन्नाथ पौडेलले जबरजस्त बागी उठ्दा एमालेले गठबन्धनको मत काट्ने र आफूले जित्ने हिशाब निकालेको थियो तर त्यो सुत्र पनि सफल हुन सकेन ।
वडाहरुमा पनि यस पटक एमाले खुम्चियो । विगतमा १३ वटा वडा जितेको एमालेले यस पटक ६ वटा मात्रै वडा जित्यो ।
एमाले चितवनका नेताहरु भने गठबन्धनले पैसा बाँडेर, भोजभतेर गरेर मात्रै चुनाव जितेको जनमत एमालेकै पक्षमा रहेको दाबी गर्छन् ।
जे भए पनि रेणु दाहालले दोस्रो कार्यकालका लागि भरतपुरमा ईन्ट्री गरेकी छन् । उनले पहिलो कार्यकालमा रहेका बाँकी काम र प्रतिवद्धता अनुसारका अन्य काम गरेर भरतपुरलाई विकासको नयाँ चरणमा पुर्याउन सक्ने अपेक्षा गरेर मत दिएका भरतपुरवासीलार्ई सन्तुष्ट बनाउन सकुन् भन्ने धेरैको अपेक्षा देखिन्छ ।
एमालेले पार्टीगत रुपमा आफू बलियो भईरहनका लागि चलाएको राजनीतिक अस्त्रले भरतपुरमा काम नगरेको देखिन्छ ।
माओवादी छाडेर एमाले प्रवेश गरेका बादल समुहले माओवादीको मत घटाउने एमालेको अनुमान थियो । त्यो पनि खासै प्रभावकारी देखिएन किन कि बादलले मतदान पनि सञ्चारकर्मीहरुसँग भनेका थिए, चुनावमा जित सूयको हुन्छ । तर परिणामले बादलले आफ्नै वडामा पनि एमाले उम्मेद्धारलाई जिताउन सकेनन् ।
विरोधी वा फरक राजनीतिक शक्तिमाथि आक्रामक अभिव्यक्ति दिने र अरुलाई कमजोर बताईरहने एमालेले यस पटक भरतपुर सहित सबै महानगरमा नेतृत्व गुमाउन पुगेको छ । यो एमालेका लागि झड्का नै हो भन्दा फरक नपर्ला ।