जेठ ९ चितवन । बहुचर्चित बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट रेणु दाहालले जित्ने पक्का भएको छ । अब तीन वटा वडामा मात्र मत गन्न बाँकी रहेपनि ती सबै मत अर्का प्रत्यासी विजय सुवेदीलाई जाँदा पनि उनले भेट्न नसक्ने देखिएको छ । यसले दाहाल भरतपुरको दोस्रो कार्यकालका लागि मेयर हुने सुनिश्चित बनेको हो । यसै गरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ । उनले पनि ठूलो मतान्तर कायम गरीसकेका छन् ।
भरतपुर महानगरपालिकामा वडा २७, २८ र २९ को मतगणना गर्न बाँकी छ। वडा २७, २८ र २९ मा १० हजार ३२४ मत खसेको थियो।
भरतपुरका २४ वटा वडाको नतिजा अहिलेसम्म आइसकेको छ। जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएका छन्।
१३ र २४ नम्बरमा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। ७, ९, २२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। अन्य सबै वडामा कांग्रेस विजयी भएको छ।
अहिलेसम्म मेयरमा रेनु दाहालले ४५ हजार ३८९ मत ल्याएकी छन्। अर्कातिर पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ७३८ मत ल्याएका छन्।
मेयर पदमा एमालेका सुवेदीभन्दा दाहाल १० हजार ६५१ मतले अगाडि रहेकी छन्। यो अन्तर गन्न बाँकी १० हजार ३२४ मत भन्दा ३२७ ले धेरै हो।
अहिलेसम्म कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन्। उनले राम्रो मत ल्याए पनि एमालेले त्यसको फाइदा लिन सकेन।
त्यसैगरी उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ६७ मतको अग्रता लिएका छन्।
उनले ४६, ४७१ मत ल्याएर जित पक्का गरिसकेका छन्। एमालेसँग मिलेर उपमेयरमा उठेकी राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन्।