हेटौंडाको पहिलो महिला मेयर लामा: एमालेबाट उदाईन, एमालेलाई नै हराएर रचिन ईतिहास !

हेटौंडाको पहिलो महिला मेयर लामा: एमालेबाट उदाईन, एमालेलाई नै हराएर रचिन ईतिहास !

  • शनिबार, जेष्ठ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

हेटौंडा, ७ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे । नेकपा एमालेले निरन्तर जित हासिल गरेको हेटौंडामा मेयर जित्नको लागि लामालाई त्यति सहज देखिँदैनथ्यो ।

एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् । एक कार्यकाल उपमेयर भएर काम गरेकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रचेकी हुन् । त्यसैगरी, गठबन्धनकै तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले विजय हासिल गरेका छन् । बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छिन् । राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ४८३ मत सहित तेस्रो स्थानमा रहिन् । लामा आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच चुनावी मैदानमा होमिएकी थिइन् । नाम सिफारिस भए पनि टिकट नपाएपछि तत्कालीन नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका थिए । कांग्रेसका रुष्ट नेता तथा कार्यकतालाई बिस्तारै फकाउँदै लामाले आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गरिन् । विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा १२, १३ बाट ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नो अगुवाईमा तयार पारिन् । एमालेको गढ मानिएको हेटौंडा ७, ८, ९ बाट पनि लामाले राम्रै मत प्राप्त गरिन् । करिब ४ हजार मत गणना बाँकी रहँदै एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर लामा र बानियाँलाई बधाई दिएका थिए । लामाले २०४६ सालमा विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गरेकी थिईन् ।

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडी बढाउदै गर्दा २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग उनको विवाह भयो । लामा २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव र २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य बनेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ