काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताले दिएको मतको सम्मान गर्ने बताएकी छन्।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने प्रतिकृया दिएकी हुन् ।
अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको बताउदैँ उनले भनिनृ, महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी छ, अन्तिम परिणामलाई सहजरुपमा लिन्छु।
उनले केहि वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केहि वडामा सोचेजस्तो मत नआएको जिकिर गरिन्। उनले मतगणनापछि समीक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन्।
‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भनिन् ।
‘मैले सहज रूपमै लिएकी छु । मैले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु,’ उनले भनिन्, ‘अहिले नै मतपरिणामबारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्याे भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।’
स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन् । अझै पनि मतगणना बाँकी नै रहेकाले जितबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
काठमाडौं महानगरमा ६० हजार बढी मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडि छन् भने एमालेका केशव स्थापित दोस्रो र सिंह तेस्रो स्थानमा छन्।