गृहनगरमा पार्टी पराजयसँगै डा. बाबुराम भट्टराईलाई चुनाैती

गृहनगरमा पार्टी पराजयसँगै डा. बाबुराम भट्टराईलाई चुनाैती

  • बिहिबार, जेष्ठ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

गोरखा, ५ जेठ । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ । सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ ।’

जतिबेला डा. भट्टराईले यो वक्तव्य दिँदै थिए, त्यसबेला गोरखामा सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) बीच भागबण्डामा कुरा नमिल्दा अन्याेलता थियो । त्यति नै बेला भट्टराईले सबैलाई मिलाएरभन्दा फाइदा हेरेर दुई वा तीन दलीय गठबन्धन गर्दा हुने संकेत गरेका थिए ।

सोही दिन डा. भट्टराईले भनेका थिए, ‘सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन । गयो भने राजनीतिक नैतिकता रहन्न । गर्नै हुन्न भन्ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन ।’

भट्टराईले सत्ता गठबन्धनकै प्रयोग गरेर आफ्नो गृहनगर पालुङटारमा जसपाको नेतृत्व ल्याउन हदैसम्मको प्रयास नगरेका पनि हैन । स्रोतका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पालुङटारमा कांग्रेसले जसपालाई मेयर जिताउन साथ नदिए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने धम्कीसम्म दिन भ्याए ।

भट्टराईको घुर्कीले प्रधानमन्त्री पद गुमाउने डर पलाएपछि देउवाले एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय गरेर उम्मेद्वारी दर्ता गराइसकेका कांग्रेसका मेयर पदका उम्मेद्वारलाई उ्म्मेद्वारी फिर्ता लिन हदैसम्म दबाब दिए । सहजै उम्मेद्वारी फिर्ता लिन नमानेपछि मनोनयन फिर्ताको दिन देउवाले नै निर्वाचन अधिकृतको कार्यालयमा आफैंले पालुङटारमा कांग्रेसको मेयर पदका उम्मेद्वारको उम्मेद्वारी फिर्ता गर्न भन्दै पत्र पठाए ।

तर, उम्मेद्वारी फिर्ताको समय सकिएपछि पत्र आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले देउवाले पठाएको त्यो पत्रको कार्यान्वयन गरेन । त्यसपछि पनि देउवाले आफ्ना उम्मेद्वारलाई निवासमा बोलाएर उम्मेद्वारी स्थगन गर्न  दबाब दिए ।

तर, देउवाको जोडबल पालुङटारका कांग्रेसी नेता, कार्यकर्ताले सुनेनन् । भट्टराईले आफ्नो गृहनगरमा आफ्नै पार्टीको मेयर बनाउन र देउवाले सरकार जोगाउन अन्तिम अवस्थासम्म पनि गरेका अनेक प्रयासले काम गरेन । अनि, यहाँ सबै दलहरू एक्लाएक्लै चुनावमा जाने निर्णय गरे ।

तर, भट्टराई भने गृहनगरमा आफ्नै पार्टीको नेतृत्व ल्याउने कुराको ‘सोख’ लाई यत्तिकै मेटाउन सकेनन् । अन्ततः सत्ता गठबन्धन दल बाहिर गएर चुनावी तालमेल गरे राजनीतिक नैतिकता रहन्न भनेका भट्टराईले एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरे ।  मतदान सुरु हुनुभन्दा तीन दिनअघि गत २७ वैशाखमा पालुङटार नगरपालिकामा जसपाले मेयर र एमालेले उपमेयर लिने गरि तालमेलको सहमति भयो ।  अनि, जसपा-एमालेको गठबन्धन मिलेर चुनावी मैदानमा होमियो । तर, नैतिकतालाई धरौटीमा राखेर सत्तागठबन्धन बाहिर पुगेर एमालेसँग गठबन्धन गरेका बाबुरामले गृहनगरमै हार व्यहोरेका छन् ।

पालुङटार नगरपालिकामा गठबन्धनलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित हासिल गरेको छ ।  मेयरमा माओवादी केन्द्रका विवस चिन्तनले ६ हजार ७२ मत र उपमेयरमा वन्दना पाण्डेले ५ हजार ५७९ मत ल्याएर निर्वाचित बनेका हुन् । मेयरमा जसपा-एमालेको गठबन्धन उपविजेता बने पनि उपमेयरमा भने कांग्रेस निकटतम प्रतिस्पर्धी बनेको छ ।  मेयरमा जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याएर उपविजेता बनेका छन् भने उपमेयरमा कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेकी छिन् ।

यस्तै, मेयरमा पूर्वमेयर समेत रहेका कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९९७ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक ४ हजार २८१ मत प्राप्त गरेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी