जेष्ठ ३, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। चारवटा वडाहरूको मत परिणाम आईसक्दा दाहालले अग्रता कायम राखेकि छिन् ।
पछिल्लो परिणाममा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार दाहालले अग्रता बढाएकी छन्।
१८ हजार ४७ मत गणना हुँदा रेणुले ६ हजार १९ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ९५६ प्राप्त गरेका छन्। दाहाल र सुवेदीबीच ६३ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९३७ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार ८८३ मत प्राप्त गरेकी छन्।
आज सकिएको वडा नम्बर ४ मा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका अर्पण पोखरेल वडाध्यक्षमा विजयी भए । यो वडामा एमालेले वडाध्यक्ष मात्रै गुमाएन मेयरको प्रतिस्पर्धामा संकट आउन सक्ने संकेत पनि यो वडाले दिएको छ ।
राप्रपासँग नेकपा एमालेले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेको छ । वडा नम्बर ४ मा एमालेका वडाध्यक्षले एक हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत ल्याएका छन् । एमाले र राप्रपाका वडाध्यक्षहरूको कुल दुई हजार ५१३ मत पाएका छन् । तर‚ मेयर पदमा विजय सुवेदीले यो वडामा जम्मा एक हजार ७४५ मत र उपमेयर पदमा राप्रपाकी हिमला गुरुङले एक हजार ५८२ मत ल्याएकी छन् ।
मेयर र उपमेयरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भए पनि वडामा प्रभाव नपरेको पो हो कि भन्ने संकेत यसले दिएको छ । यो वडामा सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी रेनु दाहाललाई पनि तालमेलअनुरुपको मत आएको छैन । वडा नम्बर ४ मा वडा तहमै सत्तारुढ दलबीच गठबन्धन थियो । यहाँ गठबनधनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्पण पोखरेल २ हजार ५ सय १ मत ल्याएर विजयी भए ।
तर‚ गठबन्धनबाटै मेयर पदको उम्मेदवार रहेकी दाहाललाई यो वडामा १ हजार ८ सय २४ मत आयो । यो वडामा मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २ सय १६ मत ल्याए ।