जेष्ठ १, रोल्पा । रोल्पाको थबाङमा पुनः माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएका छन् ।
अध्यक्षमा ऋषिकेशवले २ हजार १ सय २२ मत ल्याएका छन् भने उपाध्यक्ष शर्मिलाले पनि २ हजार १ सय २२ मत ल्याएर विजयी भएकी हुन् । अध्यक्ष र उपाध्यक्षका निकटम प्रतिद्वन्द्वीहरू दलजित रोकामगरले १ हजार ५ सय ६ र रायबहादुर पुनमगरले १ हजार ४ सय ६८ मत पाएका थिए ।
निर्वाचनमा भाग लिन माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, एमाले र कांग्रेसबीच गठबन्धन बनाइएको थियो । दलजित र रायबहादुरले गठबन्धनको समर्थनमा स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । सबै मतदाता ७ हजार १ सय ७० रहेकोमा थबाङमा ४ हजार १ सय ३८ जनाले अर्थात् ५७ दशमलब ७१ प्रतिशत मतदान भएको थियो ।
अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रकै वीरबहादुर घर्तीमगर र रामकिरणी रोकामगर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । नवनिर्वाचित अध्यक्ष ऋषिकेशव माओवादी केन्द्रका पूर्वलडाकु कमान्डरसमेत हुन् । विजयी भएपछि गाउँको विकासमा पारदर्शीता गर्नुका साथै सबै पक्षलाई मिलाएर लैजान पहल गर्ने बताए । उनी रोल्पाबाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वको सुरुवाती समयदेखि अन्त्यसम्ममा कार्यरत एकमात्रै सदस्य हुन् ।
५ वटा वडा रहेको थबाङमा ४ नम्बर वडामा बाहेक माओवादी केन्द्रकै प्यानल विजयी भएका छन् । वडा नं ४ मा एमालेका उम्मेदवार हिक्मत घर्तीमगरको प्यानल नै विजयी भएको छ । वडा नं. १ मा निर्वाचित वडाध्यक्ष हिराबहादुर बुढामगर, २ मा अविलाशा रोकामगर, ३ मा जनक बुढामगर र ५ मा गोवर्द्धन घर्तिमगर माओवादीको तर्फबाट हुन् ।
वडा नं. ४ मा एमालेलाई चन्द समूहको समर्थन रहेको थियो । एमालेले जितेको उक्त वडा मगर संघ रोल्पाका पूर्वअध्यक्ष एवं एमाले रोल्पाका इन्चार्ज नवीन रोकामगरको गाउँ हो । उनकै नेतृत्वमा उक्त वडामा जित हासिल गरेपछि थबाङको माओवादी गढ भत्काउने प्रयास भएको हो । पूर्वमाओवादी नेता उनी नेता रामबहादुर थापा बादलसँगै एमालेमै रहेका थिए । उनकै प्रभावका कारण थबाङमा एमाले, कांग्रेसले स्थानीय कमिटी गठन गरेका हुन् ।