काभ्रे, १ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका १ मा स्वतन्त्र उम्मेदवार प्रेम लामा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका १ को वडा सभापतिसमेत रहेका लामा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
लामाले पार्टीकै उम्मेदवारलाई हराउदै निर्वाचन जितेका हुन्। स्वतन्त्र उम्मेदवार लामाले ५ सय ५६ मत ल्याएर निर्वाचन जितेका छन्। नेकपा एमालेका उम्मेदवारले ४ सय ४७ मत पाएका छन् भने नेपाली कांग्रेस पार्टीका उम्मेदवारले २ सय ८ मत पाएकाछन। वडामा टिम नै स्वतन्त्र उठाएका लामाले दलित महिला र एक पुरुष सदस्य समेत स्वतन्त्रबाट निर्वाचित भएका हुन्। वडा नं १ मा महिला सदस्य र एक पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवारले जितेका छन्।
निर्वाचित भएपछि लामाले भने मलाई पार्टीले पत्याएन तर जनताले पत्याए र विजयी भए । निर्वाचित लामा जेब्रा चिन्नबाट उठेका थिए।
उता, बुटवल उपमहानगरपालिका–१ मा वडाध्यक्षमा पनि कांग्रेसले नपत्याएका स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी बने । उम्मेदवारको आकांक्षा देखाएका पुरानो बटौलीका बस्नेतलाई कांग्रेसले टिकट त दिएन नै स्वतन्त्र उम्मेदवारी दिएपछि निश्कासन गर्यो ।
पार्टीले टिकट नदिए पनि बस्नेतले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर बाजी मारे । बस्नेतले चुनाव चिह्न पुतली पाएका थिए। उनी एक भोट पुतलीलाई भन्दै हिँडे। नागरिकको समर्थन बढ्दै गयो।
उनले ६ सय ३६ मत पाएर चुनाव जितेका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५ सय ५१ मत पाउँदा कांग्रेसका प्रधानले ३ सय ४१ मत मात्रै पाए। यो वडामा १ हजार ९ सय ६८ मत खसेको थियो।
वडाका चार सदस्यमा भने कांग्रेस उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा निलम गौतम, दलित महिला सदस्यमा किरणसिंह धोबी र खुला सदस्यमा आशोक राई र अजित अहमद खान निर्वाचित भएका हुन्।