चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। भरतपुरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेको तर्फबाट विजय सुवेदी मेयर पदका उमेदवार छन्। असन्तुष्ट पक्षबाट मेयरमा जगन्नाथ पौडेलको समेत उमेदवारी छ।
दाहाललाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन छ। राप्रपाले एमालेका उमेदवार सुवेदीलाई साथ दिएको छ।
गठबन्धनका उमेदवारप्रति असहमति जनाउँदै कांग्रेसको भरतपुर महानगरपालिकाको मेयर पदलाई गठबन्धन दल र नेकपा एमालेले प्रतिष्ठानको विषय बनाएको छ । मतगमणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
मतगणना स्थलमा कार्पेट ओछ्याईएको छ । मतगणनास्थलमा कुर्सी राख्ने कि बेञ्च राख्ने विषयमा नेकपा एमाले र गठबन्धन दलबीच भएका विवादका कारण मतगणना ढिलाई भएको थियो ।
मतगणनास्थलमा गठबन्धन दलले कुर्सी राखेको थियो त्यसको एमालेले विरोध गरेर त्यसको सट्टामा बेञ्च राख्न आग्रह गरेको थियो । तर मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बेञ्च राख्दासमेत गणनामा अप्ठेरो हुने भनेपछि एमाले र गठबन्धन दल कार्पेट ओछ्याउनेमा सहमत भएका हुन् । मतगणना स्थलमा कार्पेट ओछ्याइसकेपछि मतगणना सुरु भएको हो ।