लमजुङ ३० वैशाख।
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन् ।
प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।
कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो ।
उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएकाे मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।
नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो ।
चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले
मनाङको चामे गाउँपालिका एमाले विजयी भएकाे छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत मात्र पाए ।
उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३ सय २५ मतसहित निर्वाचित भएकी छन् । एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र पाइन् ।
घले यसअघि पनि अध्यक्ष थिए । चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो ।
यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।
वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।
वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छ्न् ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।