वैशाख ३१, काठमाडौँ । दलीय प्रतिनिधिको बिषयलाई लिएर सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई म्यादी प्रहरीसहित ५ जना घाइते भएका छन् । घाइते १ म्यादी प्रहरीको गाउँपालिकास्तरीय अस्पताल हायुटारमा उपचार जारी छ । अन्यलाई लाठी र ढुंगा प्रहारबाट सामान्य चोटपटक लगेको छ ।
मतपेटिका मतगणनास्थल ल्याउँदा दलीय प्रतिनिधि उपस्थिति नगराएको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।
निर्वाचन अधिकृत विमल थापाका अनुसार गाउँपालिकाको वडा नं २ मा रहेको निर्वाचन कार्यालयमा शुक्रबार राति करिब ९ बजे झडप भएको हो ।
दलीय प्रतिनिधिहरुले चित्त नबुझेको विषयमा बुझ्न खोज्दा मतदान अधिकृत सुदन थिङले अस्वीकार गरेपछि विवाद भएको माओवादी केन्द्रका नेता डीबी तामाङले बताए । उनका अनुसार मतदान अधिकृत थिङ अहिले सम्पर्कमा छैनन् ।
माओवादी कार्यकर्ताहरुले नाराबाजी गर्दै दलीय प्रतिनिधिको रोहबरबिनै मतपेटिका ल्याइएको विषय शंकास्पद भएको भन्दै छानबिनका लागि माग गरेका थिए ।
त्यसपछि कांग्रेस, माओवादी, एमाले, जनता समाजवादी पार्टी र सुरक्षा निकायबीच छलफल भएको थियो । निर्वाचन अधिकृतसहितको छलफलमा शनिबार सम्बन्धित मतदान अधिकृतलाई कमजोरीको विषयमा सोधपुछ गर्ने समझदारी भएको नेता तामाङले बताए ।