काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिनु शंकास्पद भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाउदैँ निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन् ।
बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन अधिकृतले गराएका छन् ।
‘सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?’
उनले निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गरेका छन्। उनले स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधि पाउनुपर्ने माग गरेका छन्।
‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ। उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन। हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ। यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ?,’ उनले भनेका छन्, ‘स्वतन्त्रहरु आफैँमा फरक-फरक विचार, समूह र उम्मेदवार हुन्। उनीहरु आफैँ बीचमा प्रतिस्पर्धा हुन्छ। यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो? कुन-कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एक जनामात्रै प्रतिनिधि छान्ने हो? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन। त्यसैले, सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस्।’
उनले स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह र उम्मेदवार भएको बताएका छन् । उनीहरु आफै बीचमा प्रतिस्पर्धा हुन्छ । उनले पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको भन्ने प्रश्न उठाएका छन् ।