रौतहट, ३० वैशाख । यमुनामाई नगरपालिका १ र २ मा चुनाव स्थगित भएको छ। केही व्यक्तिहरुले मतपेटिका नै लुटेर खेतैखेत भागेपछि अवस्था तनावग्रस्त बनेको थियो । मतपेटिका नै लुटेपछि मतदान स्थगित भएको छ।
मतदान केन्द्रमा हुलदुङ्गा भइ मतपेटिका तोडभोड भएको, खाली मतपत्रहरु च्यातिएको र केही मतपेटिका नै लगेपछि मतदान स्थगन भएको हो। यता रौतहटको बौद्धिमाई नगरपालिका वाड २ इनर्वाको मतदान स्थलमा पनि तोडफोड र स्थिति तनावग्रस्त बनेको छ।
जिल्लाकै माधव नारायण नपा २ खेसरहिया टोलमा मतदान अधिकृतले गठबन्धनको पक्षमा मत छापेको भन्दै अन्य दलका उम्मेदवारका व्यक्तिहरूले मतपेटिका फुटाइदिएका थिए।
यमुनामाई गाउँपालिका वडा नम्बर १ को मावी चिकना जेठरहिया क मतदान केन्द्रमा दिउँसो साढे बजेको समयमा वादविवाद भई झड्प हुँदा मतपेटिकामा पानी खन्याएको, मतपेटिका तोडफोड भएको छ। मतदान स्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन्।
त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर २ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउँसो साढे चार बजेको स्थानीयहरु लुटेर भागेका छन्। मतपेटिका लुटिँदा पनि सुरक्षाकर्मी मुकदर्शक नै बनेका छन्।
यसैगरी बौधीमाई नपाको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा मतपेटिका तोडफोड गरी आगो लगाइएको छ।
माधवनारायणको खेसरहिया अहिले पूर्णरुपमा तनावग्रस्त बनेको छ। यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृत हरिप्रसाद शर्माले वडा नम्बर १ मा मतपेटिकामा क्षति पुर्याएको र वडा नम्वर २ मा मतपेटिका लिएर भाग्दा गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताएका छन्।
उता, सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।

सप्तरीको डाकेश्वरी नगरपालिका २ स्थित जनता मावि हरिराहामा रहेको दुइवटा मतदान केन्द्रमा तोडफोड गरिएको मतपेटिका र च्यातेर छरिएको मतपत्र । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै तोडफोड भएपछि निर्वाचन स्थगित भएको छ । तस्विर: नानीमैया कटवाल
निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार निर्वाचन स्थगित गरिएको उहाँले बताउनुभयो । निर्वाचनमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो । निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसमम्मति निर्णय भएको थियो ।उक्त निर्णयमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए ।
विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो।कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताउनुभयो ।