वैशाख २७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भएको भन्दै आपत्ती जनाएका छन् । काठमाडौं महानगरपालिकामा मंगलबार आयोजित चुनावी सभामा महामन्त्री थापाले न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न ओलीलाई सुझाव दिए ।
चुनाव नेताले जवाफ दिने र जनताले प्रश्न सोध्ने बेला भएको भन्दै महामन्त्री थापाले भने, चुनाव भनेको प्रश्न गर्ने, जवाफ खोज्ने बेला हो । चुनावमा पनि नेताले नै आएर प्रश्न गर्छ भने त्यसको अर्थ छैन, ।’ थापाले अगाडि थपे, ‘नेता न्यायाधीश होइन । एमालेको अध्यक्ष तथा पूर्वप्रधाानमन्त्री केपी शर्मा ओली न्यायाधीश होइन, अभियुक्त हो । यो बेलामा उहाँ कठघरामा उभिनुभएको बेला हो । फैसला सुनाउने पालो जनताको हो ।’
जनताले पाँच वर्ष गरेका कामको जवाफ माग्नुपर्ने थापाको भनाइ थियो । वैशाख ३० गते जनताले फैसला सुनाउने हो । फैसला सुनाउने तागत जनताले राखेनन् भने निर्वाचनको अर्थ हुँदैन उनले भने ।
अबका चुनावमा एमालेको सजाय पाउने पालो भएको थापाको भनाइ थियो । २०५१ मा कांग्रेस र २०७० सालमा माओवादीले झैं २०७९ सालमा एमालेले जनताबाट सजाय पाउनुपर्ने उनले बताए ।
कोरोनाको समयमा जनता लकडाउनमा भएका बेला र चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै गर्ता त्यतिबेलाको सरकारको नेतृत्व गरिरहेको नेकपा सांसद अपहरण गरिरहेको थापाले बताए ।
पाँच वर्षमा के के काम गरेको हो भनेर जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री थापाको माग थियो ।पाँच वर्ष पहिले फोहोर सफा गर्छु भनेर गएको एमाले अहिले फेरि एक वर्षमा फोहोर सफा गर्छु भनेर भाषण गरिरहेको भन्दै जनतालाई जे पायो त्यहि नभन्न थापाले आग्रह गरे ।