दमक, २७ वैशाख ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।
अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।”
गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उहाँको दाबी थियो । दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताउनुभयो ।
ओलीले दमक नगरपालिकामा एमालेविरुद्धको गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्र भएको समेत टिप्पणी गर्नुभयो । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नभएको भन्दै ओलीले दमकवासीले पार्टीभन्दा नेता हेरेर भोट दिने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो, ‘दमकमा बन्दै गरेको भ्यूटावर देखेर तर्सिएकाहरु, सभागृह बनेको देख्न नसकेकाहरुले एमालेको सरकारको विरोध गर्ने हो । आफ्नै गाउँ, आफ्नै ठाउँमा भएको विकासको पनि विरोध गर्ने कस्ता नेता ?, कस्तो राजनीति ?,’ ओलीले भने, ‘त्यसैले विकास विरोधलाई होइन । तपाईंहरुले विकासप्रेमी नेता हेरेर भोट दिनुहोस् ।’
ओलीले आगामी निर्वाचनहरुबाट देशमा तीनै तहको सरकारको नेतृत्व फेरि पनि एमालेले नै गर्ने दाबी समेत गर्नुभयो ।