१४ दिनपछि सुरु फोहर व्यवस्थापनमा पुनः समस्या

१४ दिनपछि सुरु फोहर व्यवस्थापनमा पुनः समस्या

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २६ वैशाख ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहर मिलाउने काम भएकाले आइतबार र आज फोहर व्यवसथापन गर्न समस्या भएएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताउनुभयो । यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहरलाई व्यवस्थापन गरिँदै आएको थियो ।

हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहर व्यवस्थापनको काम सुरु भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो ।

स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।

पटकपटकको छलफलमा पनि स्थानीयवासीसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागको भनाइ छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी