धनगढी, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले कैलाली पुगेर गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् ।
कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि भोट माग्दै प्रचण्डले भने, ‘गठबन्धन भन्दैमा झुक्ने काम गरिन्न, हामीले एक्लैले पनि चुनावमा जानुपर्छ, पार्टीका उमेदवार जस्तोसुकै अवस्थामा आएपनि हामीले जिताउनुपर्छ ।
कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बागी उम्मेदवारका लागी मत मागेका हुन् ।
उनले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब लाजुराम चौधरी र लक्ष्मी सत्गौवा थारुको टीमले पहिलो बनाउनेछन्, दुबैजनालाई जिताइ दिनुस् ।’ प्रचण्डले अहिले पनि गठबन्धन क्लियर नभएको समेत बताए।
कैलालीमा सत्तागठबन्धनका बीच पालिका बाँडफाँड भए अनुसार कैलारी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस भाग परेका थियो । तर, निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले असन्तुष्ट हुँदै स्वतन्त्र उमेदवारी दिएकी थिइन् । कैलालीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच मात्रै गठबन्धन भएको छ । वैशाख १९ गते तीनै दलका नेताहरुले, प्रमुख र उपप्रमुखमा उमेदवारी दिएका आ–आफ्ना कार्यकर्ताहरुलाई कारबाही गरिएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
लक्ष्मी सत्गौवा थारुको नाम उक्त ९ जनाको लिस्टमा उल्लेख छ । माओवादीले निवर्तमान अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई उम्मेदवार बनाएको थियो ।
प्रचण्ड कैलारी गाउँपालिकाको चुनावीसभा सम्बोधन गरी कर्णाली प्रदेशको कालिकोट गएका छन् । कालिकोटमा तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रचण्डले सुदूरपश्चिमको डोटीको दियायल र जोरायल गरी दुई ठाउँमा चुनावी सभा गर्नेछन् ।
डोटी पछि बैतडीमा पनि प्रचण्डको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि माओवादीले जनाएको छ । त्यसपछि धनगढीमा आजै गठबन्धनको संयुक्त चुनावी सभा छ । त्यो चुनावी सभाका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी आइसकेका छन्। प्रचण्डको बुहारी बीना मगरको क्षेत्र कञ्चनपुरको बेलौरीमा पनि चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।