वैशाख २६, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ संसद्वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका छन् । नेतृत्व नै संसदवाद र विचलनमा फसेपछि असन्तुष्ट पक्षका धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी निर्माण भएको जनाएको छ । नयाँ पार्टी गठन भएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा फुटेको छ ।
सो पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा दार्शनिकरुपमा सारसंग्रहवादी,राजनीतिक रुपले संसदीय संशोधनवादीमा फसेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बास्तोलाले तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेको बताए । त्यस्तै, आफूहरूमाथि आर्थिक अनियमिताको आरोप गलत रूपमा लगाइएको पनि उनले बताए ।
गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत विप्लव गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाको भनाइ थियो । ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं’, बास्तोलाले भने ।
पार्टीका संयोजक बास्तोलाले ‘विप्लव’ले संसदवादी नीति अवलम्बन गरेको बताए । उनले भने, ‘ उहाँ (विप्लव)हरु एकीकृत जनक्रान्ति भन्नुभएको छ । हाम्रो कार्यदिशा वैज्ञानिक समाजवादी हो ।’
बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराउदैँ पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छन् ।
मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको बास्तोलाको भनाइ थियो ।
पार्टीका अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपा सांगठनिकरुपमा निषेधात्मक अधिभूतवादी कित्तामा गएको बताए। उनले भने,’ नेकपा सांगठनिकरुपमा निषेधात्मक अधिभूतवादी, संघर्षको हिसाबमा आत्मसुरक्षावादी र आर्थिक हिसाबले जुझारु अर्थवादी प्रवृत्ति लियो । अहिले आइपुग्दा चुनावमा पार्टीको निर्णय लत्याउँदै गएपछि त्यसकाविरुद्ध विद्रोह गर्यौं। ‘
धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।