काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाए ।
नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएको भन्दै ओलीले सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको आरोप लगाए ।
संसद् विघटनपछि सर्वोच्च अदालतले पुनःस्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको बताए । उनले भने, ‘राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।’
अध्यक्ष ओलीले एमाले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको पनि उल्लेख गरेका थिए ।