एमालेबाहेक अरु दलले मुलुक बनाउन सक्दैन, वैशाख ३० गते गठबन्धनको ट्याइँट्याइँ सकिन्छ: ओली

एमालेबाहेक अरु दलले मुलुक बनाउन सक्दैन, वैशाख ३० गते गठबन्धनको ट्याइँट्याइँ सकिन्छ: ओली

  • शनिबार, बैशाख २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरुबाट मुलुक बन्छ भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।

एमालेले विराटनगर महानगरपालिकामा शनिबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरु दलले मुलुक बनाउन नसक्ने बताए। ‘वडामा समेत एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन। हिम्मत नभएकाले के देश बनाउँछन्रु यिनीहरुबाट के आश गर्नु ?’ ५ दलीय गठबन्धतप्रति लक्षित गर्दै ओलीले भने, ‘मुलुकको समस्या के हो भन्ने उनीहरुलाई थाहै छैन। मुलुक बनाउने मुद्दा आफूसँग नभएपछि एमालेलाई अनेक आरोप लगाउँछन्। तर एमाले नेतृत्वको सरकारले मुलुकमा नयाँ उत्साह ल्याएको, वृद्ध भत्ता बाँडेको र देशलाई समृद्धिको बाटोमा लगेको कुरा जनताले बुझेका छन्।’

एमालेले सरकारको नेतृत्व गर्न पाउँदा मुलुकमा विकासको लहर ल्याएको बताउदैँ ओलीले भने ‘एमाले आउँदा मुलुकमा उत्साह छाउँछ। त्यही भएकाले विराटनगरको गौरवपूर्ण इतिहासलाई पुर्नस्थापित गर्ने संकल्प एमालेले गरेको छ। एमालेले मुलुकलाई समृद्ध बनाउँछ’।

विराटनगर महानगरको नेतृत्वमा एमाले आउनेवित्तिकै इतिहासलाई पूर्नस्थापित गरेर विराटनगरलाई आधुनिकीकरण गरिने ओलीले प्रतिबद्धता समेत जनाए । मुलुकमै पहिलो पटक संगठित राजनीतिक आन्दोलन सुरु गर्ने औद्योगिक राजधानी विराटनगरको शाख फर्काउन एमालेले महत्वपूर्ण भूमिका खेल्ने ओलीको भनाई थियो ।

उनले एमालेले यूवालाई स्वदेशमा नै रोजगारीको व्यावस्था गर्ने समेत बताए । ओलीले भने, ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं। लाखौंलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं, एमालेले सरकारको नेतृत्व गर्यो भने युवाहरुले बाहिर जानु पर्दैन। मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन।’

एमालेले ५ जनालाई मलेसिया पठाउने आश्वासन नदिने र पाँचौं लाखलाई मुलुकमै रोजगारी दिने उनको भनाइ छ। शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको समेत ओलीको आरोप छ ।

गठबन्धन कहिल्यै नटालिने गरी पन्चर हुन अब धेरै दिन बाँकी नरहेको उनको जिकिर छ। ‘वैशाख ३० गते गठबन्धनको ट्याइँट्याइँ सकिन्छ,’ ओलीले भने, ‘कहिल्यै नटालिने गरी पन्चर हुन्छ।’ उनले भने, ‘हामीले गठबन्धन तोड्न खोज्दा ५ वटा कचौरा चाहिन्छ। वैशाख ३० गते एउटै बट्टा वा पेरुङ्गामा हालेर मिल्काउने हो। अब गठबन्धनको आयु धेरै छैन। गठबन्धन धेरै जोखिममा परिसक्यो।’  उनले अगाडि थपे, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’ यद्यपि उनले असार १७ गतेको सन्दर्भबारे विस्तृतमा खुलाएनन् ।

माधव नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘१५ वर्ष पार्टीको टुप्पामा बसेर रस चुस्ने। २१ महिना त्यही पार्टीबाट प्रधानमन्त्री हुने। अहिले खान नपाएजस्तो गरेर अर्काको भान्सामा पुगेका छन्। मैले शेरबहादुर जीलाई भनिसकेको छु ‘हाम्रामा खान नपाएर बिराला तपाईंकामा आएका छन्। अलिकति खान दिनुस्। अहिले खाँदै होलान्।’

नेपालमा अब कहिल्यै नाकाबन्दी नहुनेपनि अध्यक्ष ओलीको ठोकुवा छ । एमालेले चीनतिरको बाटो पनि खुलाइसकेको भन्दै ओलीले गुमेको भूभाग समेत आफ्नै कार्यकालमा फिर्ता ल्याएको बताए । ओलीले भने, ‘नेपालको गुमेको भूभाग फिर्ता ल्याउने आँट कसैले गरेको थियो ? कूटनीतिक तवरबाट एमालेले फिर्ता ल्याएको भूभाग अब कसैले फिर्ता लैजान सक्दैन, मुलुकमा अब नाकाबन्दी पनि हुँदैन।’ मुलुकमा लोडसेडिङको अन्त्य एमालेका पालामा भएको तर अहिले अरुले भोटका लागि प्रचार गरेको बताए ।

‘हामीले बनाएको बाटोमा अरु हिँड्न सकेनन्। विकासका काम पनि अगाडि बढाउन सकेनन्। यीनिहरुबाट मुलुकको विकासको आश गर्नु बेकार हो,’ ओलीले भने, ‘दौडमा कसले जित्छभन्ने कुरा कुदेपछि थाहा हुन्छ। अहिलेको सरकारले एमालेका पालामा ल्याएका योजना कटौती गर्ने र मुलुकमा महँगी बढाउनेबाहेक केही गर्न सकेन।’

ओलीले आज एकै दिन विभिन्न चार ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले सुनसरीको इटहरी र धरान र मोरङको विराटनगर र विराटचोकमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ