अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु, राप्रपालाई भोट हाल्नुस्: राजेन्द्र लिङ्देन

अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु, राप्रपालाई भोट हाल्नुस्: राजेन्द्र लिङ्देन

  • शनिबार, बैशाख २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पोखरा, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।” लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गर्नुभयो । उहाँले अबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताउनुभयो । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उहाँले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताउनुभयो । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बन्नुभएका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राप्रपा युवा सङ्गठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा चुनावी आमसभामा करिब ७०० जना युवाहरु पार्टी प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ