दमौली, २४ वैशाख ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो ।
कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गर्नुभयो ।
गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गर्नुभयो । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताउनुभयो । “धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ”, देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताउनुभयो ।
देउवाले केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको समेत बताउनु भयो । ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्नका लागि गठबन्धन गरिएको देउवाको भनाई थियो ।
ओलीले पटकपटक संसद् विघटन गरेको भन्दै देउवाले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली आफैं अविश्वासको प्रस्ताव पनि राख्छन् र सामना गर्नुपर्ने ठाउँमा संसद् विघटन गरी चल्नै दिँदैनन् । फिर्ता भएको संसद् पनि ओलीजीले चल्न नदिने जथाभावी संसद भंग गर्दिने ।’