बैशाख २१ चितवन । गठबन्धनप्रति प्रतिवद्ध देखिएका र धोका दिन नहुने भन्दै आएका प्रधानमन्त्री शेर बहादुर देउवा चितवन पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भए । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् ।
प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका थिए ।
श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापति समेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए ।
श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन् भने सबै खर्च पार्टीले गर्नेछ ।” सभापति देउवा र उहाँको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक उनै श्रेष्ठ रहेका छन् ।
पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट चितवन पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । , “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”
जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा भरतपुर पुगेका हुन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन पुगेका छन् । सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् ।
काँग्रेसको आधिकारीक निर्णय विपरीत जगन्नाथ पौडेलले बागी उम्मेद्धारी दिएका कारण भरतपुरलाई गठबन्धनको पक्षमा काँग्रेसलार्ई एक ढिक्का बनाएर दाहालको पक्षमा माहौल बनाउन सबै नेताहरु चितवन केन्द्रीत बनेका हुन् ।