देशका ६ महानगर मध्य भरतपुर मात्रै महिला मेयर निर्वाचित भएको महानगर बन्यो । धेरैले प्रचण्डले आफ्नो छोरीलाई मेयर बनाएको भनेर आलोचना गरे ।
तर विगत पाँच वर्र्षको अवधिमा रेणुले गरेको कामले उनको पहिचान नै पृथक बनाईदियो । स्वयं प्रचण्ड भन्छन्, अहिले चितवनमा रेणुलार्ई प्रचण्डकी छोरी हैन रेणुको बुवा प्रचण्ड भन्न थालेका छन् ।
सत्य यही हो कि रेणुलाई प्रचण्डकी छोरी भएकाले घृणा हैन उनको कामलाई भरतपुरवासीले माया गर्न थालेका छन् ।
भरतपुरलाई विकासको नयाँ रफ्तारमा लगेकी रेणुप्रति अहिले व्यक्तिगत रुपमा माया गर्ने र विस्वास गर्नेहरु बढेका छन् । शहरलाई व्यवस्थित गर्ने, ठूला ठुला परियोजना अघि बढाउने, कृषकलाई राहत देखि शिक्षा क्षेत्रमा देखिएको उल्लेख्य प्रगतिले जनता आशावादी बनेको निष्कर्ष माओवादीको छ ।
स्वयं रेणु दाहाल पनि भरतपुरवासी आम जनताको समर्थनमा आफू आफ्ना अधुरा परियोजनाहरु पुरा गर्न एक पटक भरतपुरको मेयर बन्न अघि बढेको बताउछिन् ।
यो व्यक्तिगत लोकप्रियता र कामका बीच चुनाव जित्न सहज भने छैन किन भने बलिया पार्टी र प्रतिस्पर्धी मैदानमा छन् । एमालेबाट बिजय सुवेदी सांसद पद छाडेर मैदानमा आएका छन् । गठबन्धनको काँग्रेसका प्रभावशाली व्यक्ति जगन्नाथ पौडेल पनि पाटीको निर्देशन विपरीत वागी उठेका छन् ।
यसरी जित्ने हिशाब छ माओवादीको
१. सांगठनिक मतमा वृद्धि ः रेणुको राम्रो काम र पार्टी संगठन विगतको भन्दा सुदृढ भएकाले करीब ३० हजार मत पार्टीको सुरक्षित रहेको आकलन माओवादीको छ । चुनावी प्रचार संयोजक बद्री तिम्सिनाका अनुसार पार्टीले ७४ सालमा ल्याएको २० हजार मतमा अहिले बढेर ३० हजार पुगेको छ । त्यो राप्रपाको तिम्सिनाको टोलीसँगको एकीकरण र मेयर दाहालको कामका कारण विस्तारित मत हो ।
भरतपुरमा करीब एक लाख ४० हजार मत खस्ने आंकलन छ ।
२. काँग्रेसको आधा मत रेणुको पक्षमा आउने आंकलन : काँग्रेसले आधिकारीक रुपमा गठबन्धन गरेकाले संस्थागत रुपमा काँग्रेसको कम्तीमा पनि ५० प्रतिशत मत रेणुलाई खस्ने माओवादकिो आकलन छ । त्यसो भयो भने काँग्रेसको ४० हजार मत मध्य २० हजार आँउदा रेणुको मत ५० हजार पुग्नेछ ।
३. एकीकृत समाजवादी, जसपा र जनमोर्चाबाट थपिने मत : अहिले गठबन्धनका कारण भरतपुरमा रेणुका लागि एमालेबाट फुटेको एकीकृत समाजवादीको तीन देखि ५ हजार मत रेणुको पक्षमा आउने छ । जनमोर्चाको करीब २ हजार, जसपाको २ हजार जति मत पनि रेणुको पक्षमा आउनेछ । त्यसो गर्दा करीब ६० हजार मत रेणुले पाउने छिन् ।
४. राप्रपाका केही र स्वतन्त्र मतले निर्णायक जीत : माओवादी नेताहरुले गरिरहेको अभ्यासका क्रममा अहिले एमाले भित्र पनि सानो सानो तहमा कतिपय असन्तुष्टीहरु फेला परेका छन् । पार्टी जे भए पनि एक पटक रेणुलाई मेयर बनाउनु पर्ने मनशायमा एमाले भित्रको कतिपय जनमत देखिएको माओवादी नेताको दावी छ । त्यसै गरी एमालेले राप्रपासँग चुनावी तालमेल गरेपनि केही मत माओवादीलाई खसाउने रणनीति छ । जसमा बद्री तिम्सिनाले ठूलो भूमिका खेलिरहेका छन् ।
यस बाहेक कतै पनि आलोचनाको पात्र नबनेको बरु उल्लेख्य समर्थन र सहानुभूति पाएकी रेणुले स्वतन्त्र मतहरुबाट उल्लेख्य समर्थन हासिल गर्ने देखिन्छ । विप्लवकै कतिपय मानिसहरु पनि रेणुको समर्थनमा रहेको माओवादी नेताको दाबी छ ।
यी सबै कारणले चुनाव लगभग जितिने दिशामा पुगेको माओवादीको आँकलन छ । तर यसको परिणाम नआउदा सम्म केही भन्न सकिने अवस्था भने छैन ।