काठमाडौं, १७ वैशाख । मिटुका बिषयमा प्रश्न उठाउने एक महिलामाथि गरेको टिप्पणीका कारण विवादमा परेका काठमाण्डौ महानगरको मेयरका उम्मेद्धार केशब स्थापितमाथि कार्बाही गर्न एकै पटक ४५ वटा संघ संस्थाले माग गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गर्दै आएका छन् ।
स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?
राउतले स्थापित यौन दुव्र्यहारको आरोपमा मुछिएको प्रसङ्ग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गरेकी थिइन् ।
यस्तै, स्थापितसँग एउटै मन्च शेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाउन थालेका छन् ।
केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका बेला मिटु सिटु आउने गरेको भन्दै स्थापितको बचाउ गरेका थिए ।
ओरेक लगायत देशभरका अधिकारवादी संगठनको विज्ञप्तिमा स्थापितको उम्मेद्धारी रद्ध गर्न र कार्बाही गर्न माग गरिएको छ ।
यसले बलियो संगठन हुँदा हुँदै पनि महानगरमा यस पटक एमालेमाथि दबाब बढ्न सक्ने देखिएको छ ।
मिटु अन्तर्गत उज्जला महर्जनले शुरुमा स्थापितमाथि यौन हिंशाको प्रयासबारे सार्वजनिक गरेकी थिईन् ।
त्यसपछि रस्मिला प्रजापतिले काठमाण्डौँ महानगरमा जागिर खाने बेला स्थापितले यौन दुराचारको प्रयास गरेको भन्दै बिरोध गरेपछि स्थापित विवादमा पर्न थालेका हुन् ।
एकातिर पाटी भित्रै उम्मेद्धारीका विषयमा असन्तुष्टी रहेको र अर्कोतिर चौतर्फी आलोचना समेत बढेपछि गेम ईज ओभर , मैले जितिसके छाप लाग्नु मात्रै बाँकी भनेर अभिव्यक्ति दिएका स्थापित यो आक्रमणको प्रतिवादका लागि टिम बनाएर प्रचार प्रसारमा जुट्न थालेको स्रोतले बताएको छ ।
उनले यलो प्यागोडा होटलमा केही पत्रकारहरु बोलाएर आफूमाथि हमला भएकाले यसको बिरोधमा व्यवस्थित प्रचार प्रसार गर्न भन्दै सहयोगको बचन दिएको काठमाण्डौका एक स्थानीय पत्रकारले दाबी गरे ।