काठमाडौँ, १० वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउन सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरको टिकट वितरणमा नेताहरुबीच शक्ति बाँडफाँटको बिषयले विवाद हुँदा कांग्रेसभित्रको शक्ति सन्तुलनको बहस सतहमा आएको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले बिहीबारदेखि निरन्तर त्यस विषयमा शीर्ष नेताहरू र पदाधिकारीबीच छलफल गरिरहेका छन् । तर, अहिलेसम्म काठमाडौंको मेयर र भरपुरको उपमेयरबाहेकामा कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने टुंगिएको छैन । नेताहरूले आफ्नो प्रभाव भएको क्षेत्रमा आफूले प्रस्ताव गरेको व्यक्ति उम्मेदवार हुनुपर्ने अडान राखेका छन् ।
छ वटा महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न बसेको शीर्ष नेताहरूको बैठकमा विवाद उत्पन्न भएको हो ।
काठमाडौंको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरूबीच सहमति भएको छ भने भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको नामसमेत टुंगो लागेको कांग्रेस नेताहरूले जनाएका छन् । तर लिखित हुँन भने बाँकी रहेको छ । अन्य ठाउँमा कसरी शक्ति सन्तुलन गर्ने भन्ने बिषयमा कांग्रेसमा समस्या देखिएकोले सहमती जुट्न सकेको छैन ।
उता वीरगञ्ज महानगरपालिकाको उपमेयरका विषयमा अहिलेसम्म छलफल भएको छैन । बाँकीमध्ये ललितपुर र विराटनगरको मेयर तथा पोखराको उपमेयरका विषयमा नेताहरूबीच विवाद छ । सभापति देउवा, नेता शेखर कोइराला र अर्का नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अघि सारेका छन् ।
ललितपुर महानगरपालिकामा संस्थापन पक्षकै नेताहरूबीच विवाद देखिएको छ । ललितपुरमा हालका मेयर चिरिबाबु महर्जन र अर्का नेता प्रेमकृष्ण महर्जनलाई मेयरमा उठाउने भन्ने विवाद देखिएको । चिरिबाबु र प्रेमकृष्ण दुबै सभापति देउवा पक्षय नेता हुन् । यद्धपि ललितपुरको मेयरका लागि ९ जनाको दाबी छ । ललितपुरमा ०७४ मा कांग्रेसले एक्लै मेयर र उपमेयर जितेको थियो । यसपटक गठबन्धन गर्दा कांग्रेसले ललितपुरमा मेयरमात्रै पाएको छ । मेयरका लागि महर्जनद्वयबाहेक नगर सभापति शुभानन धाख्वा, हालकी उपमेयर गीता सत्याल, नेताहरू भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ ।
यसैगरी नेता शेखर कोइराला र शशांक कोइरालाको प्रभाव क्षेत्र विराटनगरमा सभापति देउवाले केन्द्रीय सदस्य अमृत अर्याललाई मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेपछि मेयर उम्मेदवार छान्न समेत सकस हुने देखिएको छ । स्रोतका अनुसार कोइरालाले विराटनगरको मेयरमा जिल्ला सभापति नागेश कोइरालालाई अघि सार्न चाहेका छन् ।
विराटनगरबाट मेयरकालागि संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अर्याल, केन्द्रीय सदस्य एवं हालका मेयर भीम पराजुली, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईको नाम सिफारिस भएकोछ ।
विराटनगरमा सभापति देउवाले आफूपक्षीय नेतालाई जबरजस्ती टिकट दिए विद्रोह हुनसक्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।
उता, बैठकमा पोखरा महानगरपालिकाको उपमेयरका विषयमा समेत नेताहरूबीच मतभेद भएको छ । गठबन्धन गर्दा पोखराको मेयर भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उपमेयरमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक व्यक्तिको नाम अघि सारेका छन् ।
सभापति देउवाले आफूनिकट हालका महानगर सभापति सुरेन्द्र बिजुक्छेको नाम प्रस्ताव गरेका छन् । पौडेलले भने महिला संघकी सभापति कोपिला रानाभाटको नाम प्रस्ताव गरेका छन् । पोखराबाट मेयरका लागि १८ जना र उपमेयरका लागि १० जनाको नाम सिफारिस भएको थियो ।
उम्मेदवारको नामबारे छलफल गर्न सभापति देउवाले शुक्रबारै कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर शीर्ष नेताहरुबीच सहमति नभएका कारण अहिलेसम्म बसेको छैन ।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ।
अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।