चैत्र २६ काठमाण्डौँ । चुनावको घोषणा भएर तयारी तीव्र भएका बेला एकाएक चुनावमा सहभागी हुने दल दर्ता र छुटेका नेता कार्यकर्ताको मतदाता नामावलीमा नाम समावेश गर्ने वातावरण बनाउनु पर्ने भन्दै विप्लव नेतृत्वको नेकपाले सरकार र निर्वाचन आयोगलाई आग्रह गरेपनि अब सरकार र दलका शीर्ष नेताहरु चुनाव नसार्ने निष्कर्षमा पुगेका छन् ।
केही दिनअघि नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले गृहमन्त्री वालकृष्ण खाँड, प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेर चुनावमा भाग लिने वातावरण बनाईदिन आग्रह गरेका थिए ।
सो विषयमा अब आयोगले केही गर्न सक्यो भने मात्रै नत्र अरु केही गर्न नसकिने जवाफ पाएपछि विश्वकर्मा निर्वाचन आयोग पनि पुगेका थिए । तर आयोगले चुनावको रेल छुटिसकेको जनाउ दिएको थियो ।
विप्लव समुहको लागि चुनावमा भाग लिने वातावरण बनाउन उनीहरुले उठाएको माग पूरा गर्न निर्वाचन कार्यतालिका नै संसोधन गर्नु पर्ने र चुनावै सार्नु पर्ने स्थिति आउने भएकाले त्यो संभव छैन, आयोगका एक सदस्यले भने ।
काँग्रेस, माओवादी सहितका शीर्ष नेताहरुले पनि चुनाव सार्न नसकिने स्पष्ट पारिसकेका छन् ।
एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद ल्याउने भन्दै हिंशात्मक राजनीति थालेको सो पार्टीले ७७ साल फागुण २३ मा तीन बुदे सहमति पछि शान्तिूपूर्ण राजनीतिमा आएको थियो ।
त्यसपछि चुनावमा दल दर्ताका लागि आयोगले निर्धारण गरेको फागुण ३० सम्मको मितिमा उनीहरुले दल दर्ता गरेनन् । तर केही समय अघि कपिलबस्तुमा बसेको बैठकमा विप्लवले पार्टीले चुनावमा भाग लिन प्रस्ताव गरेका थिए ।
विप्लवको प्रस्ताव अल्पमतमा परेपछि चुनावमा भाग नलिने निर्णय गरेको सो पार्टीका विश्वकर्मा सहितका नेताहरु चुनावमा भाग लिने खुल्ला घोषणा गर्दै दौडधुप गरीरहेका छन् ।
यही घोषणाका कारण पार्टी भित्र गंभीर विवाद शुरु भएको छ । हेमन्त वली, धर्मेन्द्र बास्तोला सहितका नेताहरु चुनावमा भाग लिन नहुने र भण्डाफोर अभियान चलाउनु पर्ने पक्षमा छन् । तर पार्टी केन्द्रीय सदस्यहरु नै चुनावको पक्षमा छलफल र उम्मेद्धारी घोषणामा लागेपछि पार्टी गंभीर संकटमा पुगेको छ ।
सो पार्टीका एक केन्द्रीय सदस्यले विप्लव र प्रकाण्ड नै चुनावमा जान मरिहत्ते गरेर क्रान्तिलाई धोका दिन लागेको भन्दै त्यसरी भाग लिए आफूहरुले पार्टी पुनर्गठन गरेर क्रान्तिलाई अघि बढाउने दाबी गरेका छन् ।