चैत्र २३ चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताएका छन् । अध्यक्ष प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताए।
‘त्यसकारण महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने मेरो विचार छ ।’ बुधबार चितवनको आँपटारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महिलामा इमानदारिता र सुशासन बढी हुने गरेको बताए ।
‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, प्रचण्डले मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै उनले भने, ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो, उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’
अध्यक्ष प्रचण्डले , ‘यसले नै धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम हुँदोरहेछ भन्ने देखिएको छ । महिलाकोमा जिम्मेवारी अर्कै खालको हुन्छ । त्यसको अर्थ सबै महिला हुन्छन् भन्ने त होइन’, अध्यक्षको भनाइ थियो ।
सो कार्यक्रममा अध्यक्ष प्रचण्ड र मन्त्री श्रेष्ठले ४६ दलित परिवारलाई लालपूर्जा वितरण गरेका थिए ।
आजै प्रचण्डले चितवनमा एमाले युवा संघका भरतपुर महानगर उपाध्यक्ष सहित दुई सय विभिन्न दलका कार्यकर्ता पार्टी प्रवेश गराएका थिए ।
सो क्रममा उनले अहिले देश माओवादीको एजेण्डाबाट चलिरहेको भन्दै यस परिवर्तनलाई संस्थागत गर्न माओवादी बलियो हुनु पर्ने बताए ।