चैत्र १६ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन निश्चित भएको बताएका छन् । नेपाली काँग्रेसले हिजो तालमेलको नीतिगत निर्णय गरेसँगै प्रचण्ड गठबन्धन हुनेमा ढुक्क देखिएका छन् ।
आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुने बताए ।
प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा माओवादीको दाबी रहने स्पष्ट पार्दै अन्य पालिकामा कसलाई समर्थन गर्ने भनेर बैठक बसेर टुंगो लगाउने पनि बताए ।
अन्य महानगर र उपमहानगरमा पनि दलहरुबीच बसेर छलफल गरेर टुंगो लगाउने उनले बताए । यसका लागि बिहिबार गठबन्धनको बैठक बस्ने प्रचण्डले जानकारी दिए ।
उर्जामन्त्री पम्फा भुषाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रचण्ड चितवन पुगेका छन् । प्रचण्डले आज राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशनको उद्घाटन गर्ने, भरतपुर महानगरमा नारायणी तटबन्ध र पश्चिमतर्फको रिङरोड खण्ड शिलान्यस गर्ने र भरतपुर २२ धनौजीमा कभर्डहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चुनाव लागेसँगै प्रचण्ड चितवनका विभिन्न उद्घाटन र शिलन्यासमा व्यस्त रहेका छन् ।