काठमाडौं, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा अपरान्ह ३ बजेका लागि बैठक बोलाईएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेकी नगर्ने भन्ने विषयमा दुई धारमा देखिएको छ। यद्यपी जारी केन्द्रीय कार्यसमितिको बैठकमा बहुमतले गठबन्धन गरेर जानुपर्ने विचार राखेका छन्। योसँगै कांग्रेसले आगामी चुनावमा गठबन्धन गरेरै अघि बढ्ने संकेत दिएको छ। कांग्रेसले चुनावी गठबन्धन लगायतका विषयमा आज निर्णय सार्वजनिक गर्ने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
कांग्रेस केन्द्रीय कमिटीको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समयमा गठबन्धन गरेरै निर्वाचनमा जानुपर्ने प्रष्ट पारेका छन्। बैठकमा डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायतका केही नेताले गठबन्धन गर्न नहुने धारणा राखेका छन्।
बैठकमा सभापति देउवाले संसदीय समिति गठनबारेको प्रस्ताव ल्याउने तयारी गरेका छन्।कांग्रेसले महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ।