काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन प्रथान गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका हुन्।
पुन नियमित स्वास्थ्य जाँचका लागि चीन गएको बताएका छन् । तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि उपचारपश्चात चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले उपचारका लागि गएको घर्तीले बताइन्। फलोअप उपचारका लागि पुन पत्नीसहित चीन गएका हुन्।
उता प्रमुख सचेतक गुरुङ भने सोहि जहाजमा कुटनीतिक राहदानी प्रयोग गरी बेइजिङ गएका छन्। उनको भ्रमणलाई माओवादी केन्द्रले भने गोप्य राखेको छ। माओवादी केन्द भित्रै पनि गुरुङ चीन गएको बारे जानकारी गराईएको छैन । एक शिर्ष नेताले पार्टी भित्र समेत गुरुङ चीन गएको जानकारी नगराईएको बताए ।
चीनले वाम एकताका लागि मध्यस्थ गरिदिने भनिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु चीनमै छन्। चीनको कुन्मिङमा भएको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले नेताहरु चीन गएका हुन्।
पौडेलसहितको टोली चीनमा रहेका बेला माओवादी केन्द्रका नेताहरु पनि चीन गएका हुन्। उनीहरुले चीनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग द्वीपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताइएको छ।
चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ। नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ। निर्वाचन नजिकिइरहेको समयमा चीनले पुनः एकपटक फुटेका कम्युनिस्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको स्रोत बताउछ नेपालका दुवै कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा हेरिएको छ।
यता चिनियाँ विदेशमन्त्री वाङ यी भने तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्। नेपालमा रहदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ।