चैत्र १० भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले गठन्धन भएपनि आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।
गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए। माडी प्रचण्डको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाई छ ।
सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उनले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरे । गत वर्ष प्रचण्डले नै सो सडकको सिलन्यास गरेका थिए ।
सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । प्रचण्डले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिए । दाहालको निर्वाचन क्षेत्र हेर्दै आएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर प्रचण्ड भरतपुर फर्किएका छन् ।
आज आधा दर्जन बढी कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्डले एमाले, राप्रपा, क्रान्तिकारी माओवादी लगायत विभिन्न दल परित्याग गरेर माओवादी प्रवेश गरेकाहरुलाई पनि स्वागत गरेका थिए ।