चैत्र ७ काठमाण्डौँ । केन्द्रमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको कुनै ठोस सहमति नभए पनि जिल्ला स्तरमा औपचारीक रुपमै गठबन्धन बन्न थालेका छन् । केही दिन अघि मात्रै अर्घाघाँचीमा एमाले बाहेक पाँच दलले गठबन्धनको घोषणा गरेका थिए ।
आज फेरी धनकुटामा चार दलीय गठबन्धन बनेको छ । धनकुटामा स्थानीय तहको निर्वाचनमा चार दलबीच गठबन्धन हुने भएको छ । सोमबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा क्रियाशील चार दलबीच चुनावी गठबन्धन हुने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ स् ‘आगामी वैशाख ३० मा हुन गैरहेको स्थानीय तहको निर्वाचनमार्फत तमाम विसंगति, वेथिती, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरूलाई धनकुटामा क्रियाशील ९गठबन्धनमा जोडिएका चार दल० राजनीतिक दलहरु परास्त गर्न चाहन्छ । त्यसका निम्ति उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमार्फत सामूहिक मर्म, भावना र उद्धेश्यहरुलाई पुरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडि बढेको छ, सोही भावनालाई ह्दयगंम गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै हाम्रा सांगठनिक संरचनाहरूलाई समेत स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावनाअनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं ।’
उता कास्की जिल्लामा पनि सत्तारुढ दलहरुले स्थानीय तहमा गठबन्धन गर्न आन्तरीक छलफल बढाएका छन् ।
अन्य जिल्लामा समेत यसरी आन्तरीक छलफल बढ्दै जाँदा केन्द्रमा पनि नेताहरुलाई गठबन्धन गर्न दबाब बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय गठबन्धन हुने नहुने टुंगो नभएपछि दलहरु आ आफ्नै चुनावी अभियानमा केन्द्रीत भएर लागिरहेका छन् ।