चैत्र ७ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवा आज एक नम्बर प्रदेशको भ्रमणमा निस्किएका छन् । उनले आज मोरङको सुन्दरहरैचामा निर्मित नगर अस्पतालको उद्घाटन गरेका छन् । नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ। साथै नगर भवनको सिलन्यास समेत गरेका छन् ।
त्यसपछि प्रधानमन्त्री आजै ताप्लेजुङ र पाँचथर पुगेर विभिन्न उद्घाटन र सिलन्यास गरेपछि खोटाङ आउनेछन् ।
खोटाङामा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए। उद्घाटन कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री काठमाडौँ फर्कने कार्यक्रम छ । साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल रु पाँच करोड ६० लाखमा निर्माण गरिएको हो ।
विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समय अगाडि नै पुल निर्माण गरिएको हो ।