चैत्र ६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभरको स्थिति हेर्दा माओवादी पहिलो शक्ति बन्ने संभावना बढेको बताए ।
पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आज प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
६४ सालमा चुनाव हुँदा पनि अरु ठूला भनिएका दलले माओवादीको चार पाँच सिट भन्दा आँउदैन भनेको स्मरण गर्दै उनले अहिलेको स्थिति हेर्दा हाम्रो पार्टी पहिलो बन्ने स्थिति देखिएको दाबी गरे ।
शान्ति, लोकतन्त्र र परिवर्तनको संवाहक माओवादी नै भएको जनताले बुझ्न थालेको प्रचण्डको दाबी छ । अब ब्यापक रुपले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । गठबन्धनको भर परेर चुनाँव जितौँला भनेर नबस्न कार्यकर्तालाई अपील गरे ।
पार्टीका लागि यो चुनाव सामान्य औपचारिक चुनाव मात्र नहुने भन्दै प्रचण्डले परिवर्तनलाई उल्ट्याउने प्रयासहरु अझै पनि भइरहेको भन्दै यसका लागि पनि पार्टी चुनावबाट बलियो शक्ति हुन जरुरी रहेको बताए ।
संविधान र लोकतन्त्रको रक्षाका लागि नै गठबन्धन पार्टीको प्रयासमा बनेको भन्दै उनले अझै पनि यसको आवस्यकता रहेकोमा भने जोड दिए ।