चैत्र ५ सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू यो उमेरमा पनि दौडधुप गरीरहेको भन्दै युवाहरुलाई जुझारु ढंगले अघि बढ्न निर्देशन दिएका छन् । सिन्धुलीमा पार्टीले निर्माण गरेको जिल्ला कार्यलय भवनको उद्घाटन गर्दै प्रचण्डले अबको निर्वाचन सामान्य चुनाव मात्र नभएर परिवर्तन र अग्रगमनबीचको लँडाई भएकाले यो चुनाव जीत्नै पर्ने बताए ।
उनले अहिलेको परिवर्तन माओवादीको बलमा आएको भन्दै यसलाई उल्ट्याउन खोज्ने तत्वहरु सक्रिय भएर षड्यन्त्र गरीरहेकाले अब चुनाव मार्फत उनीहरुलाई परास्त गर्नु पर्ने बताए ।
उनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी जस्ता मुद्धाहरु माओवादीकै कारण आएको र अहिले त्यो कार्यन्वयन भईरहेकाले अब जनतालाई घर घरमा पुगेर बुझाएर चुनाव जीत्ने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले गठबन्धन संविधानको रक्षाका लागि पार्टीको पहलमा बनाएको भन्दै अझै पनि यो कायम रहने बताए । तर चुनाव गठबन्धनका आधारमा जितिन्छ भनेर नसोच्न कार्यकर्ताहरुलाई अपील गरे ।
प्रचण्डले आफै चुनाव जित्छौँ भन्ने देखिएपछि गठबन्धन माओवादी खोज्दै आउने ठोकुवा गरे ।
