चैत्र १ काठमाण्डौँ । विवेकशील साझा पार्टीले बागमती प्रदेश सांसद सहित २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ।
बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए ।
कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पनि नतिरेको भन्दै उनीहरुलाई कार्बाही गरेको हो ।
गत आईतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले उनीहरुलाई कार्बाही गरेको हो ।
पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको सो पार्टीको दाबी छ ।
हटाईएका केन्द्रीय सदस्यहरुले भने अदालतको निर्णय सम्म पर्खने बताएका छन् । रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई नै हटाएपछि आन्तरीक विवादका कारण ती नेताहरु सक्रिय थिएनन् । अदालतमा विवेकशील साझाको मुद्धा बिचाराधीन छ ।
विवेकशील साझाले रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।